टीकापुर १२ साउन- कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ ।
थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ । अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको भन्दै सम्पत्ति कब्जामा लिएको जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको बिज्ञप्तीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन् । कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन् ।
