तेज बोहरा
बझाङ २१ असार – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले बित्थडचिरको मुहार फेरिएको छ ।
कतिपय स्थानीय तहले कार्यक्रम छनौटमा विवेक नपुर्याउदा विवादमा आईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बझाङको बित्थडचिर गाउँपालिकाले भने ठूलो उपलब्धि हात पारेको छ ।
जिल्लाको प्रवेशद्वार बित्थडचिर गाउँपालिकामा झण्डै ३५ सय आवेदक मध्ये १६५ जनाले रोजगारी पाएको रोजगार संयोजक लोकराज अवस्थिले बताए ।
गाउँपालिकाका गरिब विपन्न, कमजोर आर्थिक स्थिति र राज्यको पहुँचबाट पछाडि परेका वर्गहरु लाई रोजगार कार्यक्रममा छनौट गरि दैनिक ५ सय १७ रुपैयाँको दरले ज्याला दिएको संयोजक अवस्थिले जानकारी दिए ।
गाउँपालिका वडा नम्बर ६ का विभिन्न विद्यालयका खेलमैदान निर्माण भएका छन, भने यस्तै ओसैल खोलावाट बस्ती जाने गाेरेटाेबाटो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण गरिएको छ ।
गाउँपालिकाका सबै वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भौतिक निर्माण लाई प्राथमिकतामा राखी काम गरिरहे बताउदै वायोईन्जिनियरिङ्ग कार्यक्रममा सडक छेउछाउमा बोटबिरुवा रोप्ने तयारी भैरहेको संयोजक अवस्थिको भनाइ छ ।
यो कार्यक्रमले विपन्न र गरिबको मुहारमा खुशी त भरेको छ नै स्थानीय तहले कार्यक्रम छनाैटमा विवेक पुर्याउँदा गाउँको मुहार नै परिवर्तन हुने गरी विकासका काम पनि भएका छन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ससर्त अनुदान स्वरुप बित्थडचिर गाउँपालिकाको लागि मात्रै ३७ लाख बजेट विनियोजन भई आएको थियो भने जेठ २५ देखि काम सुरु भई असार २५ मा समापन हुने छ ।