बझाङ २० असार
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ०१ को बित्थडमा आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहरा र उपाध्यक्ष जानकीले संयुक्त रुपमा आधारभूत स्वास्थ्य चौकीको औपचारिक उद्घाटन गरेका हुन ।
बित्थडचिर गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्मित ६ कोठे भवनमा आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरिएको हो । स्वास्थ्य चौकि सन्चालनको लागि अहेव, अनमी, स्विपर र एक कार्यालय सहयोगी गरि चार जना कर्मचारीको व्यवस्था गरेको छ ।
सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि स्वास्थ्यचौकी सुरू गरिएको वडाध्यक्ष धनबहादुर बोहराले बताए । उनले स्वास्थ्य चौकीमा केही सामाग्री र औषधि उपकरणको अभाव रहेको स्वीकार गर्दै उक्त समस्या समाधानको लागि गाउँपालिका सङ छिट्टै पहल गरि समाधान गर्ने बताए ।
वडा अध्यक्ष बोहराले स्वास्थ्य चौकीमा खटाईएका कर्मचारीले रातदिन नभनी सेवाग्राहीको सेवामा खटिनुपर्ने निर्देशन दिए । गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त अवस्थिले आधारभुत स्वास्थ्य चौकीका सेवा भित्र बर्थिङ्ग सेन्टर पनि पर्ने भएकोले बर्थिङ्ग सेन्टर र आधारभूत स्वास्थ्य चौकी छुट्टाछुट्टै राख्नुको कुनै अर्थ नभएको बताए । उनले अहिले आधारभूत स्वास्थ्य चौकी क्याट २ मा रहेको र क्याट १ मा पर्ने बितिक्कै एकीकृत रुपमा स्वास्थ्य बाट प्रदान हुने सबै सेवाहरु दिन सकिने बताए ।
सामान्य गर्भवती महिलालाई सुत्केरी गराउनका लागि २/३ घण्टा हिडेर जानुपर्ने बाध्यता देखि सामान्य स्वास्थ्य सेवाबाट बन्चित भैरहेका जनताहरुको लागि वडामा स्वास्थ्य चौकी स्थापना गरिएको गाउँ पालिका उपाध्यक्ष जानकी बोहराले बताईन । यस्तै गाउँपालिका अध्यक्ष प्रेम बोहराले बित्थडमा स्थापना भएको स्वास्थ्य चौकीमा कुनै किसिमको स्वास्थ्य सामाग्री, औषधि उपचारको अभाव हुन नदिने प्रतिवद्वता जनाए । बित्थडचिरमा स्थापना भएका ६ वटा आधारभूत स्वास्थ्य चौकी मध्ये नमुना र उत्कृष्ट स्वास्थ्य चौकी रहेको बताउदै सर्वसाधारणको घरदैलोमै स्वास्थ सेवा पुगेको बताए ।
छिमेकी बैतडी जिल्लाको सिमा नजिकै सन्चालनमा आएको स्वास्थ चौकीमा बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका र सुर्नाया बाट बिरामी उपचारको लागि आउने हुदा स्वास्थ्य चौकिमा उपचार र व्यवस्थापन पक्ष थप बलियो बनाउने बताए । गाउँमै बर्थिङ सेन्टर सहितको आधारभूत स्वास्थ्य चौकी स्थापना भएपछि गर्भवती महिला लाभान्वित हुने भएका छन्।