धनगढी १८ असार
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना व्यापारी पक्राउको विरोधमा स्थानीय व्यापारीले बजार बन्द गराएका छन् ।
बुधबार दिउँसोबाट स्थानीय व्यापारीहरुले व्यापारीको हकहितका पक्षमा नगरपालिकाको नगरपरिषद्मा बोल्न नदिएपछि भएको असहमतिमा सार्वजनिक मुद्दा दायर गरिनु र आफ्ना धारणा राख्न उद्योग वाणिज्य संघको हलमा गरिएको पत्रकार सम्मेलनबाटै पक्राउ गरिनु गलत भएको भन्दै व्यापारीले बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए ।
‘आफ्ना धारणा राख्दै गर्दा प्रहरी पठाएर पक्राउ गरिनु वाक स्वतन्त्रताको विरुद्ध हो,’ उनले भने, ‘हामीले पत्रकारहरुलाई वास्तविकता जानकारी गराउँदागराउँदै बोल्नै नदिएर पत्रकार सम्मेलनमै आएर प्रहरीले पक्राउ गर्नु कहाँसम्मको जायज हो ।’ झुटा मुद्दा लगाएर व्यापारीलाई फसाउन खोजेको भन्दै उनले भने, ‘झुटा मुद्दा खारेजी नहुन्जेलसम्म अत्तरियाका व्यापारीहरु स्वतःस्फूर्त लडिरहनेछौँ ।’
उद्योग वाणिज्य संघका पदाधिकारीसहितका व्यापारीले पनि आफ्ना क्रियाकलापलाई सच्चाउँदै जानुपर्ने गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले बताएका छन् । उनले भने, ‘हामी यो विवादको सहजीकरणमा छौँ, तर व्यापारीहरुले पनि आफ्नो क्रियाकलापलाई सुधार्दै जानुपर्छ ।’ आवेशमा आएर व्यापारीहरुले नगरपालिकाको नीति तथा कार्यक्रममै गुण्डागर्दी शैली अपनाएको भन्दै उनले खेद व्यक्त गरे ।
‘विना शर्त रिहा गर्नुपर्छ’
अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष देवकोटासहितका व्यापारीलाई लगाइएको मुद्दा तत्कालै खारेज गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले बताएका छन् । गोदावरी नगरपालिकाले व्यापारीलाई करको दायरा बढाउँदै अत्याधिक कर असुल्ने गरेका कारण त्यसलाई सहजीकरण गर्नका लागि गएको व्यापारीको अध्यक्षलाई झुटा मुद्दा लगाई बोल्ने वातावरण नदिइनु गलत भएको बताउँदै अध्यक्ष बोगटीले भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै नगरपालिकाले एकतर्फीरूपमा व्यापारीमाथि झुटा मुद्दा लगाएको छ, यो सरासर गलत हो ।’
नगर परिषद्मा व्यापारीले करको मुद्दालाई लिएर गएका बेला उल्टै उनीहरुविरुद्ध मुद्दा लगाइनु नगरपालिकाको गलत कार्य भएको उनले बताए । अर्को कुरा व्यापारीले पत्रकार सम्मेलनमार्फत् आफ्ना धारणा राख्न खोज्दा सम्मेलनमै धारणा राख्नै नदिई पक्राउ गरिनु दुइतिहाई सरकारको दम्भ भएको उनले बताए । ‘आज बिहान पत्रकार सम्मेलनमै अध्यक्ष देवकोटालाई धारणा राख्न खोज्दा खोज्दै पक्राउ गरिएको छ,’ उनले भने, ‘यो वाक स्वतन्त्रताको बर्खिलाप पनि हो ।’
निःशर्त झुटा मुद्दा तुरुन्त खारेजीसँगै रिहाइका लागि माग गरिएको उनले बताए। ‘हामीले माथि केन्द्रमा पनि नेपाल उद्योग वाणिज्य महासंघसम्म पनि छलफल गरिरहेका छौँ,’ उनले भने, ‘झुटा मुद्दा खारेजी गरी बिना शर्त रिहाइका लागि माग गरेका छौँ ।’