नतिजामा सरकारी लगानीका सामुदायिक विद्यालयको अवस्था निजी विद्यालयको भन्दा निकै कमजोर देखिएको छ । सरकारी विद्यालयको शैक्षिक सुधारका लागि सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभाव नदेखिएको हो । यस वर्षको नतिजामा पनि निजी विद्यालयकै धेरै विद्यार्थीले बढी जिपिए ल्याएका छन् ।
कुल सहभागी चार लाख ९५ हजार दुई सय ७५ विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट ७०.८४ र निजी विद्यालयबाट २९.१६ प्रतिशत विद्यार्थी छन् । तर, ३.६० देखि ४ जिपिए ल्याउने १७ हजार आठ सय ८० मध्ये १४ हजार सात सय ८८ जना निजी विद्यालयकै छन् । सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ ले मात्रै ए प्लस प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउने ५१ हजार एक सय ३७ मध्ये ३९ हजार नौ सय १४ जना निजी विद्यालयकै विद्यार्थी छन् । उक्त जिपिए प्राप्त गर्ने सामुदायिकका ११ हजार दुई सय २३ ले मात्रै छन् ।
यस्तै, सबैभन्दा तल्लो जिपिए ०.८० देखि १.२० सम्म ल्याउनेमा भने सामुदायिक विद्यालयका चार हजार दुई सय ९६ र निजीमा एक सय ३३ जना मात्रै रहेका छन् । यसरी तुलनात्मक रूपमा हेर्दा बढी जिपिए प्राप्त गर्नेमा निजीका बढी विद्यार्थी छन् भने कम जिपिए प्राप्त गर्नेमा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या उच्च रहेको छ । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।