धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका– १० स्थित एउटै परिवारमा पाँच जना अपाङ्गता भएका व्यक्तिहरू छन्। उनीहरू सबै दृष्टिविहीन छन्, जसमध्ये दुई जना दृष्टिविहीनसँगै अन्य शारीरिक अपाङ्गता भएका सदस्य पनि छन्। सरकारले सामाजिक सुरक्षा भत्तास्वरूप मासिक ६ सय दिने गरे पनि त्यो रकम उपचारका लागि समेत अपुग रहेको उनीहरूको गुनासो छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका– १० मा घर भएका मुन्नी रानाको परिवामा ५ जना दृष्टिविहीन छन्। मुन्नी रानासँगै उनका श्रीमान् बहादुर राना, जेठाजु घुम्मन राना र मुन्नी रानाका छोराछोरी भिकनी र अर्जुन राना पनि दृष्टिविहीन नै छन्।
तीन भाइको संयुक्त परिवार भएको राना परिवारका जेठा भाइ घुम्मन राना जन्मजात दृष्टिविहीन जन्मे, उनीसँगै कान्छा भाइ पनि दृष्टिविहीन नै जन्मे। आमा बुबा शारीरिक रूपमा स्वस्थ नै रहेको राना परिवारमा दुई भाइ जन्मजात दृष्टिविहीन भए। जेठा भाइ घुम्मन दृष्टिविहीन भएकै कारण अविवाहित रहे पनि कान्छा भाइ बहादुरको भने दृष्टिविहीन नै भएकी मुन्नीसित बिहे भयो।
बिहेपश्चात मुन्नी र बहादुरका दुई सन्तान जन्मे तर दुइटै छोराछोरी दृष्टिविहीन नै जन्मिदा परिवारमा झन् पीडा थपियो। दुई दाजुभाइ दृष्टिविहीन भएको घरमा एकजना अर्की दृष्टिविहीन मुन्नी थपिइन्। त्यसपछि मुन्नीका दुई छोराछोरीसमेत थपिँदा उनीहरूको स्याहार गर्ने मान्छेसमेत नपुग्ने भए। एकजना माइला भाइ र उनको परिवारले जेठा दाइ र कान्छा भाइको पूरै परिवाको स्याहार गर्नुपरेको छ।
परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि दैनिक कामकाजमा समेत समस्या भएको छ। दृष्टिविहीन भएकै कारण भविष्यमा कसले स्याहार सुसार गर्ने हो भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ। सरकारले सामाजिक सुरक्षा भत्तास्वरुप मासिक ६ सय रुपैयाँ दिएको भए पनि त्यसले उपचारका लागि समेत नपुगिरहेको मुन्नीको गुनासो छ।
अपाङ्गता भएका व्यक्तिको पनि स्तर, पारिवारिक अवस्था हेरेर सरकारले व्यवस्थापन गर्नुपर्ने दृष्टिविहीन परिवारको भनाइ छ। मुन्नीका २० वर्षीय छोरा अर्जुन रानाले भने अपाङ्गमैत्री कक्षामा अध्ययन गर्दै यस वर्ष एसईई परीक्षा दिएका छन्। पढ्ने रहर भएरै विद्यालय गए पनि अडियोको माध्यमबाट पढाइ नहुँदा समस्या हुने गरेको उनी बताउँछन्।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले अपाङ्गता भएका व्यक्तिका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम नै बनाएर बजेट विनियोजन गर्न लागेको बताए। मुन्नीको परिवारका साथै अन्य परिवारका अपाङ्गता भएका व्यक्तिका बारेमा पनि बजेट विनियोजन हुने उनको भनाइ छ।
- दिनेश बिष्ट / नेपालीपब्लिक अनलाईनबाट