बैतडी — दशरथचन्द नगरपालिका ९ मा एक आमाको घरमा रातो झन्डा राखिएको छ । वडा कार्यालयले वडाभरिका हजार दिने आमाको घरमा झन्डा राखेको हो । ‘पोषण सुधार, राष्ट्र निर्माणको आधार’ भनेर नारा लेखिएको झन्डा वडाका १ सय ९३ आमाका घरमा गाडिएको छ ।
आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याउन, उनीहरूलाई समयमै स्वास्थ्य सेवा प्रदान गर्न र घरपरिवारलाई पनि हजार दिनभित्रका आमाको स्वास्थ्यबारे ख्याल गर्न सजग गराउने उद्देश्यले झन्डा राखिएको वडाध्यक्ष हरिचन्द्र जोशीले बताए ।
आमा आफू र आफ्नो बच्चाको स्वास्थ्यमा गम्भीर हुन सकुन् भन्ने उद्देश्य रहेको जोशी बताउँछन् । उनले भने, ‘झन्डाले समयमै चेकजाँच गर्न, पोषिलो खानेकुरा खान, सरसफाइमा ध्यान दिन प्रेरित गर्ने आशा गरेका छौं ।’ गर्भवती भएको थाहा पाएको दिनबाट बच्चा २ वर्ष नपुगुन्जेल महिलालाई हजार दिने आमा भन्ने गरिएको छ ।
बाहिरबाट सेवा दिन आउने संघ–संस्थालाई पनि सहज होस् भनेर झन्डा राख्न सुरु गरिएको उनले बताए । घर खोज्दै हिँड्नुभन्दा वडामा पस्नेबित्तिकै थाहा पाउन सक्ने भएकाले सहज हुने उनले बताए । उनले भने, ‘यसकार्यले हजार दिनका आमाहरू भएको घरलाई सबैले चिन्न सक्नेछन् । स्वास्थ्यमा घरपरिवार र स्वयं उनीहरूले पनि ध्यान दिनेछन् भन्ने अपेक्षा लिएका छौं,’ जोशीबुंगा स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरियाले झन्डा राख्दा महिला र उनीहरूका घरपरिवारका अन्य सदस्यहरू पनि आमा र बच्चाको स्वास्थ्यमा ध्यान बढाएको बताए ।
यसले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, पोषणका क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि सेवा दिन सजिलो भएको उनले सुनाए । अघिपछि भन्दा गर्भवती र सुत्केरी भएका बेला थप पोषिलो खानेकुराको आवश्यकता पर्छ ।
रातो झन्डा भएका घरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र पोषण सहजकर्ता नियमित आउने गरेको स्थानीय माया वड बताउँछिन् । ‘आफ्नै घरकाले गर्ने व्यवहारमा पनि सुधार आएको छ,’ उनको भनाइ छ । जिल्लाका धेरै ठाउँमा हजार दिने आमा, किशोरीका घरमा झन्डा राख्ने काम असल अभ्यास भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट (पोषण फोकल पर्सन) सन्तोष पाण्डेले बताए । ‘यसले महिला र बालबालिकाको पोषणमा सुधार आउनेछ,’ उनले भने ।
केही दिनअघि वडा कार्यालयले वडाभरिका हजार दिने आमाहरूलाई कोसेली वितरण गरेको थियो । आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले उनीहरूलाई अन्डा, आयोडिनयुक्त नुन, सरसफाइका सामग्री उपलब्ध गराइएको थियो । आमाहरूलाई पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिन र परिवारका सदस्यहरूलाई पनि आमाको स्वास्थ्यप्रति चनाखो हुनुपर्छ भन्ने भनेर जानकारी दिन कोसेली दिइएको वडासचिव कृष्णबहादुर बोहोराले बताए ।