अछाम — धामीका घरमा भएको आगलागी घटनाले जिल्लामा छाउपडी गोठमुक्त अभियान प्रभावित भएको छ । जेठ ३ गते छाउगोठमुक्त घोषित ढकारी गाउँपालिका ४ बलाताका ३ धामीका घर जलेर नष्ट भएको घटनालाई देउता रिसाएको भन्दै अभियानलाई प्रभावित बनाइएको छ ।
गहुँको भुसामा सल्केको आगोबाट धामी माने बुढा, दाने बुढा र डंगले बुढाका घर शुक्रबार जलेका थिए । वडासदस्य नरा ढोलीका अनुसार गाउँलाई छाउपडी गोठ र जातीय छुवाछूतमुक्त घोषणा गरिएको साता नबित्दै धामीकै घरमा आगलागी भएपछि देउता रिसाएको भ्रम फैलाइएको छ ।
मुक्त घोषणाका दिन महिनावारी भएका, दलित गैरदलित समुदायकाले एकै चुलोमा खाना पकाएरसँगै खाएका थिए । गाउँमा भएका सबै छाउगोठ भत्काइए । वर्षौंदेखि चलिआएको कुप्रथा सबैले अस्वीकार गर्दा सबै खुसी देखिन्थे । तर, आगलागीपछि महिनावारी भएकाहरू छाउगोठमै फर्किएका छन् ।
अहिले सबै महिला छाउगोठको चाँजोपाँजो मिलाउन थालेका छन् । गोठ भत्काउने अभियानमा सक्रिय हुनेहरूमा डर धेरै छ । ती घरका महिला खेतबारीमा पाल टाँगेर बस्न थालेका छन् । ‘छाउगोठमुक्त घोषणालगत्तै आगलागी भएपछि हामी सबै डराएका छौं । अहिले छाउ हुँदा घरभित्र बस्नु त के नजिक जान पनि डर लाग्न थालेको छ,’ वडासदस्य नरा भन्छिन्, ‘मैले पनि छोरीलाई छाउगोठमै पठाएकी छु । सबैले देउता बिग्रेकै कारण आगलागी भएको भन्ने विश्वास गरेका छन् ।’
घटनापछि गाउँमा रहेका सबै ७२ घरका महिला महिनावारी हुँदा खेतबारीमा पाल टाँगेर बस्न थालेका छन् ।
आगलागीबाट ६ घरका ६० खसीबोका, एक गोरु र एक गाई जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब १ करोड ८२ लाख बराबरको क्षति भएको छ ।
स्थानीय भक्तबहादुर साउँदका अनुसार बलाताकै बलिया देउताका धामीको घरमा आगलागी भएको हो । देउताका थान पनि धामीहरूकै घरमा थिए । आगलागीबाट ती थान पनि जलेर नष्ट भएका छन् । साउँदले भने, ‘जहाँ देउताकै भाँडाकुडा राखिएका घरमा आगो लाग्नु अचम्म हो । देउताका सबै सामान पनि जलेका छन् । यही त्रासले अब छाउपडीलाई घरमा राख्न सक्ने अवस्था छैन ।’
छाउगोठ मुक्त अभियानमा लागेका महिलाहरू पनि डरमुक्त छैनन् । ‘छाउ हुँदा घरमा बसौं भने देवी–देउताको डर छ । नबसौं कानुनको डर छ,’ अभियन्ता पार्वतीदेवी साउँद भन्छिन्, ‘सराकारले सेवा सुविधा नदेओस् । कारबाही गरोस् या ज्यानै जाओस् तर अब म पनि घरमा बस्नै सक्दिनँ ।’
भत्काइनुअघि बलाताका छाउगोठ कष्टकर थिए । ‘झ्यालढोका नभएका साँघुरा गोठहरू भत्काएर घरमै बस्न थालेदेखि सजिलो भएको थियो,’ स्थानीय तुलीदेवी साउँद भन्छिन्, ‘अब घटना हुनुभन्दा हामी छाउगोठमै बस्न तयार छौं ।’ धर्मसंस्कार र परम्परासँग जोडिएको प्रथा भएका कारण यसको अन्त्य चुनौतिपूर्ण रहेको स्थानीयको बुझाइ छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउँदले पनि अभियान प्रभावित भएको बताइन् । ‘छाउपडी घरभित्र बसेकै कारण आगलागी भएको हो भन्ने सबै गाउँलेको विश्वास भएकाले उनीहरूलाई सम्झाउन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘आगलागी हुनुका पछाडि देउता रिसाएको भ्रम नराख्ने एकजना पनि भेटिँदैनन् ।’ पछिल्लो एक दशकमा जिल्लामा छाउपडी गोठमा बस्दा बखत १२ महिलाको मृत्यु भएको छ ।
मेनुका ढुङ्गाना कान्तिपुरबाट