सरस्वती कुमारी साफरी
धनगढी । सडक क्षेत्र भित्र पर्ने संरचना आफै भत्काउने घर धनीलाई सम्मान गर्ने योजना बोकेको धनगढी उप–महानगरपालिकाले अटेरी गरि निर्माणमा अवरोध गर्नेका बिरुद्ध कडा रुपले उत्रिएको छ ।
बिहीबार मात्रै धनगढी उप–महानगरपालिका ३ भन्सार स्थीत दुईवटा घर र पर्खाल डोजर प्रयोग गरेर भत्काईएको छ । सडक क्षेत्र भित्र रहेका निजी संरचना भत्काउन धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायत वडाका जनप्रतिनिधीहरु स्वयंम उपस्थीत भएका थिए ।
सडक क्षेत्र कब्जा गरेर बनाएका निजी संरचना हटाउन हामीले पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेका कारण आफुहरुले कठोर निर्णय लिनु परेको नगरप्रमुख वडले बताए । उप–महानगरपालिकाको अनुरोधलाई कमजोरीको रुपमा लिएर सडक क्षेत्र भित्र रहेका संरचना नहटाउनेका बिरुद्ध कडा रुपले प्रस्तुत हुने पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले भन्सार स्थीत चक्रपथ निर्माणमा अवरोध गर्ने स्थानीय गोकर्ण पौडेलको घर र पर्खाल डोजरको प्रयोग गरेर भत्काएको बताए । त्यसैगरी बुधवार नै त्रिनगर भन्सार कार्यालयको चेकजाँच भवनको आधाभाग त्यहाँका प्रमुखको स्वीकृतीमा भत्काईएको वडा अध्यक्ष ऐरले बताए ।
सडक क्षेत्रमा घर र पर्खाल लगाएर निर्माण कार्यमा अवरोध गर्ने गोकर्ण पौडलको घरमा डोजर लगाउनु उप–महानगरपालिकाको बाध्यता हो वडा अध्यक्ष ऐरले भने, उनलाई पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेकाले वल प्रयोग गर्नु परेको बताए । पौडेल राजाको प्रत्यक्ष शासनकालमा वडा नं ३ का वडा अध्यक्ष पनि हुन ।
स्थानीयतहको जनप्रतिनिधी भैसकेका ब्यक्तिले विकासमा अवरोध गर्नुले त्यसको गलत सन्देश सबैतिर गएको थियो वडा अध्यक्ष ऐरले भने,हामीलाई आफै भत्काउन बाध्य पारियो ।यस अघि निर्माणाधिन धनगढी अत्तरीया ६ लेन सडक क्षेत्रभित्र रहेका संरचना हटाउन अटेरी गर्नेका घर पर्खालहरु नगरप्रमुख वडले आफै डोजरमा चढेर भत्काएका थिए । धनगढी उप–महानगरपालिकाका बिभिन्न ठाउँमा निजी संरचना बनाएर निर्माणको काममा अवरोध गर्नेहरु अहिले पनि धेरै छन् ।