धनगढी,८ असोज । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेहरु बढ्दै गएका छन् । सुदूरपश्चिमका चार वटा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट भएर नेपालीहरु घर फर्किन थालेका हुन ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका सत्यराज शाहीले दसै नजिकिएकाले घर फर्किएको बताए । गतवर्षको दशैं मनाएर भारत पसेका उनी, गौरीफन्टा नाका भएर दशैंका लागि घर फर्किएका छन । ‘दशैंमा रमाईलो हुन्छ, बालबच्चा प्रतिक्षामा बसेका हुन्छन, त्यसैले घर फर्केर आए’ शाहीले भने । उनी केरलामा होटलमा वेटरको काम गर्छन ।
डोटीको महादेवस्थानका जंगे भाट पनि झोलीगुन्टा बोकेर गोरीफन्टा नाका भएर बुधबार घर फर्कीएका छन । ‘दशैं मनाउन आएको, ६ महिना भयो भारतमा गएको’ उनले भने । ‘भारतमा चौकीदारीको काम गर्छु । भारतमा दशैंमा विदा पाउछ, तिहारमा बरु पाईदैन, त्यसैले दशैं मनाउन आएको ।’
सोमबार मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट २ सय ४६, जुलाघाट नाका बैतडीबाट २६ र सबैभन्दा बढी गौरीफन्टा नाका कैलालीबाट ३ सय २६, पुलघाट नाका दार्चुलाबाट ३३ र खकरुला हेल्थ डेस्क ६३ गरेर ६ सय ९४ जना स्वदेश फर्किएका छन् । सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र ९पीइओसी० ले संकलन गरेको विवरणमा उल्लेख छ । आइतबार ५५ सय ३३ जना स्वदेश फर्किएका थिए । हिन्दुहरुको महान चाड वडा दशै नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको हो ।