धनगढी, ६ असोज / सामुदायिक सिकाइ केन्द्रहरूले समयअनुसार आफूलाई परिवर्तन गर्दै प्रविधिमैत्री तथा डिजिटल शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।
धनगढीमा आजदेखि सुरु भएको दुईदिने क्षमता अभिवृद्धि कार्यशालामा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन न्यौपानेले सामुदायिक सिकाइ केन्द्रहरू अब परम्परागत सिकाइमा मात्रै सीमित हुन नहुने बताए।
उनले पहिले जस्तो नाम लेख्न सिकाउने मात्रै नभई अहिलेको आवश्यकता र प्रविधिको विकाससँगै डिजिटल शिक्षामा आधारित सिकाइलाई अगाडि बढाउनुपर्ने बताए। सामुदायिक सिकाइ केन्द्रहरूले शिक्षा प्रदान गर्ने कामसँगै समाजलाई सचेत बनाउने भूमिकासमेत निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
अनौपचारिक शिक्षालाई समयसापेक्ष बनाउँदै समुदायको आवश्यकताअनुसार सिकाइका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत कार्यशालामा जोड दिइएको छ। समुन्नत नेपालका अनौपचारिक शिक्षा विज्ञ नवराज जोशीले सहजकर्ताहरूलाई अहिलेको समयअनुसार अनौपचारिक शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रस्तुति दिएका छन्।
कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटीका सहसचिव तथा कार्यक्रमका अध्यक्ष टेकराज अवस्थीले शिक्षा क्षेत्रलाई अहिलेको अवस्थामा पुर्याउन सामुदायिक सिकाइ केन्द्रहरूले विगतमा खेलेको भूमिकाको कदर गर्नुपर्ने बताए।
स्थानीय सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सामुदायिक सिकाइ केन्द्रहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्ने अवस्थीको भनाइ थियो।
गुणस्तरीय सिकाइका लागि विद्यालय तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यशाला आयोजना गरिएको हो। सामुदायिक सिकाइ केन्द्रको स्वमूल्याङ्कनमा आधारित योजना निर्माण तथा वैकल्पिक सिकाइ मार्गसम्बन्धी समिति र सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने विषय कार्यशालाको मुख्य उद्देश्य रहेको छ।
शिक्षा विकास तथा समन्वय इकाई कैलालीसँगको सहकार्यमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आयोजना गरेको कार्यशालामा कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताहरूको सहभागिता रहेको छ।
कार्यशालाको उद्घाटन समारोहको अध्यक्षता सामुदायिक विकास केन्द्र डोटीका सहसचिव टेकराज अवस्थीले गरेका थिए भने शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन न्यौपानेले प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। युनिसेफ नेपालका प्रतिनिधि सज्जन योगेश अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको सञ्चालन सामुदायिक विकास केन्द्र डोटीका मूल्याङ्कन अधिकारी हेमराज जोशीले गरेका थिए। दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताहरूको क्षमता अभिवृद्धि, योजना निर्माण तथा वैकल्पिक सिकाइका विभिन्न पक्षमा छलफल र प्रस्तुति हुने सामुदायिक विकास केन्द्र डोटीका मूल्याङ्कन अधिकारी हेमराज जोशीले बताएका छन्।