काठमाडौँ । भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी), र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको आज (मंगलबार) उद्घाटन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा आइसिपी उद्घाटन गर्न लागेका हुन्। दुबै प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री ओलीले बालुवाटारबाट र समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आइसिपी उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो।
जोगबनीमा आइसिपी निर्माण गर्दा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ। भारतको रक्सौल र नेपालको वीरगञ्जमा सन् २०१८ मा नेपाल–भारत एकीकृत जाँच केन्द्रको स्थापना भएको थियो। आइसिपीमा भन्सार, अध्यागमन, भण्डारण, पार्किङ, बैँकिङ सुविधा लगायतका सेवा उपलब्ध छन्। भारतले नेपालका गोर्खा र नुवाकोटलगायतका क्षैत्रमा ५० हजारवटा घर बनाउने प्रतिबद्धता जनाएको थियो जसमध्ये ४५ हजार घर निर्माण सकिइसकेको पनि भारतीय प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ।
