अत्तरिया , ३० असोज / कैलाली र कञ्चनपुरमा विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
कैलालीमा चोरी मुद्दामा कैद र जरिवाना तोकिएका टीकापुर नगरपालिका–१, ब्लक नम्बर १२ बस्ने ३२ वर्षीय रोहित कठायत पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको २०८२ जेठ १९ गतेको फैसलाले उनलाई १ महिना १५ दिन कैद र १ लाख ६२ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।
त्यस्तै, बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना तोकिएका ३५ वर्षीय दिनेश खत्री पनि पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–३, टाकुरा घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरमा डेरा गरी बस्ने खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ९ गतेको फैसलाले उनलाई १ महिना कैद र २७ हजार २०० रुपैयाँ जरिवाना तोकेको थियो।
पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।