यमुना साउद । धनगढी,२० भदौ । सुदूरपश्चिमका लागि फुटबलका खेलाडी अञ्जलि चन्दको नाम नौलो होइन। यहाँ हुने जुनसुकै फुटबल प्रतियोगितामा पनि उनको नाम चर्चामा आउँछ ।
तिन वर्ष सुदूरपश्चिम फुटबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसकेकी अञ्जलि अहिले आफ्नो भविष्यप्रति चिन्तित छन्। खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उनी बताउँछिन्।
’नौ वर्षको उमेरदेखि फुटबल खेल खेल्न सुरु गरियो। नेपालमा मात्रै नभई बङ्गलादेश लगायतका देशमा फुटबल खेल्ने अवसर पाएँ ।’ अञ्जलि भन्छिन्, ‘ उमेर बढ्दै जाँदा चिन्ता बढ्दै गएको छ । चाहेर अन्य काम गर्न सक्ने स्थिति नहुनु र राज्यबाट पनि कुनै संरक्षण नहुँदा जीवन अन्योलमा छौ ।’
कञ्चनपुरमा जन्मिएकी अञ्जलि चन्दले हाल विभिन्न कारणले महिला फुटबल लिग खेल्ने अवसरबाट वञ्चित भएको बताउँछिन् । उनी भन्छिन्, “सुदूरपश्चिम फुटबल सङ्घका अध्यक्षसँगको विवादका कारण हामीलाई महिला फुटबल लिग खेल्नबाट रोकियो । यो विवादले मलाई मात्र नभएर समग्र सुदूरपश्चिमको महिला फुटबल विकासमा पनि ठुलो धक्का लाग्यो।
“हामीले कडा मिहिनेत गरेर राष्ट्रिय स्तरमा खेल्ने अवसर प्राप्त गरेका थियौँ, तर सङ्घको आन्तरिक विवादले गर्दा त्यो अवसर गुम्न गयो,” उनी थप्छिन् । “महिला खेलाडीहरूलाई यस्ता अवरोधले निराशा मात्र होइन, भविष्यप्रति पनि चिन्ता थपेको छ।”
उनी खेलाडीहरूको हकहितको संरक्षणका लागि सङ्घले निष्पक्ष रूपमा काम गर्नुपर्ने आवश्यकता भएको बताउँछिन् । “हामीले हाम्रो क्षमतालाई देखाउने अवसर पाउनुपर्छ, चाहे त्यो लिग होस् वा कुनै अन्य प्रतियोगिता ।, ” अञ्जलि बताउँछिन्।
सुदूरपश्चिम फुटबल सङ्घलाई खेलाडी संरक्षणमा कुनै चासो नभएको उनले बताइन् । “ खेल खेल्दा सम्म मात्र खेलाडीलाई वास्ता गरिन्छ । खेलिसके पछि मरोस् बाचोस् मतलब हुँदैन । खेलाडी उत्पादन र उत्पादन भएका खेलाडीको संरक्षण हुन जरुरी छ।”

कैलालीकी अस्मिता चौधरी तिन पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइन् । उनले बङ्गलादेश र भुटानमा भएको फुटबल प्रतियोगितामा सहभागिता जनाउनु भएकी थिइन । उनी सुदूरपश्चिम प्रदेशको टोलीबाट फुटबल खेल्थिन् । फुटबलका लागि निकै चर्चित अस्मिता ११ वर्षको उमेरदेखि फुटबल प्रतियोगितामा सहभागी भएको बताउँछिन्।’
“कुनै बेला लाग्थ्यो शरीरको नशामा पनि फुटबल छ । फुटबल भनेपछि खाना नै खान मन लाग्दैन थियो । अहिले पनि फुटबल कै लागि परीक्षा छोडे ।” अस्मिता भन्छिन्, “समय बित्दै जाँदा विभिन्न समस्याले घेराबन्दी गर्न थालेपछि अहिले पछुतो पनि लाग्छ। ”
खेलाडीका लागि नेपालमा उचित वातावरण बन्न नसकेकै कारण कैयौँ खेलाडी पलायन भइरहेको उनले बताइन् । र खेलाडीलाई राज्यले पारिश्रमिक दिएर व्यवस्थापन गर्न आवश्यक रहेकामा उनी जोड दिन्छन्।
उनले भनिन् “सुदूरपश्चिममा अरू अरू विधामा प्रतियोगिता भई रहदाँ महिला फुटबल प्रतियोगिता आयोजना हुदैन् । पालिका र प्रदेश सरकारले भलिबल , क्रिकेट ,पुरुष फुटबल लगायत अरू अरू प्रतियोगिता गर्छ तर महिला फुटबल प्रतियोगिता हुँदैन ।”
प्रतियोगिता भए पनि खेलाडीको पारिश्रमिक सुनिश्चित हुँदैन। ‘समय बित्दै गएको छ। परिवारलाई खुसी बनाउन सकिएको छैन। खेल्न छोडौँ भने अन्य सीप आफूसँग छैन।’

कैलालीको गौरीगङ्गा नगरपालिकाकी धना बोहरा पनि फुटबलका लागि चर्चित छिन्। पाँच वर्ष अघि देखि फुटबल खेल्दै आएकी उनीले आधा दर्जन भन्दा बढी राष्ट्रिय स्तरका खेल खेलिसकेकी छिन् ।
खेलाडीले खेलसँगै व्यावसायिक पेसासँग जोडिन आवश्यक रहेको उनी बताउँछिन् । स्थानीय सरकारले आयोजना गर्ने खेलकुद प्रतियोगितालाई मनोरञ्जनको रूपमा मात्र नभई खेलाडी उत्पादन गर्ने गरी आयोजना गर्नुपर्नेमा उनी जोड दिन्छन्।
उनी भन्छन्, ‘एकातिर खेल क्षेत्रमा खेलाडीको भविष्य सुनिश्चित नहुने र अर्कोतिर नयाँ खेलाडी उत्पादनमा सरकार जिम्मेवार नहुने हो भने खेल क्षेत्र नै धरापमा पर्न सक्ने चिन्ता छ।’
स्थानीय क्षेत्रमा खेलकुदका गतिविधि सञ्चालन हुन नसकेकै कारण खेलाडीहरू पलायन हुने अवस्था आएको उनी बताउँछिन् । उनी भन्छिन् , “सुदूरपश्चिमकै नाम राख्नकै लागि भनेर दिनरात नभनी मिहिनेत ग¥यौं, तर अन्त्यमा खेल्नै पाइनँ । अहिले चलिरहेको महिला फुटबल लिगका लागि आफ्नो पढाइसमेत छोडेर लागेकी थिएँ। अब घरपरिवारले पनि खेल्न नपाउने भएपछि खेल नै छोड्नू भन्छन्।”
उनी थप्छिन् “हाम्रो लागि यो खेल जीवनको महत्त्वपूर्ण अंश बनेको छ । खेल्न नपाउँदा भविष्य अँध्यारो देखिन थालेको छ। परिवारको दबाब, आर्थिक अवस्था कमजोर र राज्यको समर्थनको अभावले गर्दा अब खेल जीवनलाई निरन्तरता दिन गाह्रो भइरहेको छ। ”
यी तीन जना जस्तै अन्य खेलाडीहरूले पनि यस्ता कठिनाइहरूको सामना गरिरहेका छन्, र उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्न आवश्यक अवसरहरूको अभावले गर्दा उनीहरू खेलकुदलाई नै छोड्न बाध्य भइरहेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले सुदूरपश्चिममा उत्पादन भएका खेलाडीहरूलाई विभिन्न क्लबहरूसँग जोडेर व्यावसायिक खेलकुदमा सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। तर, राज्यबाट पर्याप्त लगानीको अभावका कारण अपेक्षित प्रगति हासिल गर्न नसकिएको उनले बताए ।
“हामीले खेलाडीलाई विभिन्न क्लबहरूसँग जोडेर व्यावसायिक खेलकुदमा अघि बढाइरहेका छौँ, तर राज्यको लगानी धेरै कम भएकाले सोचे जस्तो काम हुन सकेको छैन,” सिंहले भने।
