धनगढी, १८ भदौ / डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यही लाइफलाइन सडकको भने बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३.३३ किलोमिटर पर्छ ।
डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन् । ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो । अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ ।’ हगुल्टे लेक क्षेत्रमा बर्सेनि हिमपात हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले सामान्य मर्मत मात्रै गर्ने भएकाले उक्त क्षेत्रमा सडक वर्ष दिन नपुग्दै भत्किने गरेको छ ।
अर्का सवारी चालक दीपेन्द्र ऐरका अनुसार ठाउँ-ठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा मुस्किल छ । ‘वर्षात्को समयमा त भगवान् भरोसामा यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि कैलाली खण्डमा समय-समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ । ‘अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ,’ उनले भने, ‘अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ । त्यो भनेको खाल्डा पुर्ने काम मात्रै हो । त्यो दिगो हुँदैन ।’ उनका अनुसार सहजपुरदेखि फल्टुडेसम्मको आवधिक मर्मतको काममा दुई करोड २६ लाख रुपैयाँ खर्च भएको हो ।
राजमार्गको डडेल्धुरा र डोटी खण्ड भने सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो । ‘यसअघि सडक मर्मतका लागि तीनवटा ठेक्का लगाइएको थियो,’ उनले भने, ‘तर, ती ठेकेदारले न त मर्मतको काम गरे न कार्यालयले ठेक्का तोड्ने काम नै गरेको थियो । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाएका छौँ ।’ राजमार्गको भात्काडादेखि गैरासम्म ५ करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ । यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ । यसबाहेक डडेल्धुरा (बैतडी राजमार्गमा अनारखोली क्षेमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ ।
२०१८ सालतिर भीमदत्त राजमार्ग निर्माणको चर्चा सुरु भएकोमा त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर २०२९ सालमा पहिलोपटक डडेलधुरामा गाडी पुगेको थियो । २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन । यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो । अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी सिग्देलले बताए । ‘जीएसआई हटैराज जेभीले ठेक्का पाएर काम गरिरहेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा कटिङ र वाल लगाउनेलगायतको काम भइरहेको छ । पुसभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।’
