धनगढी ११ साउन/धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको भन्दै अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ ।
बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् ।
परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि नगरेको उनको आरेप छ । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । त्यस्तै आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।