धनगढी, ८ साउन/पूर्व राष्ट्रिय फुटवल खेलाडी एवम प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ । खड्काको मङ्गलवार दिउँसो ११ बजे निधन भएको हो ।धनगढी उपमहानगरपालिका–४, उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघातबाट निधन भएको हो। एक्कासी घरमा बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल पुगाइएको थियो । उपचारको क्रममा उनको निधन भएको परिवारले जनाएका छन् ।
गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा उनको योगदान छ ।
महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर समेत उनले काम गरेका थिए। सुदूरपश्चिममा प्रमुख फुटबल प्रशिक्षक भएर खड्काले खेलाडी उत्पादनमा योगदान गरेका थिए । खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो। खड्काका दुई छोरा, एक छोरी र श्रीमती छन । खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ ।
