यमुना साउद । धनगढी,१२ असार । धनगढी ६ मट्यारीका एक किसान जो फूल खेती गरी रहेका छन् । ती हुन शङ्कर विष्ट । उहाँले गत वर्षबाट फुल खेती गर्न सुरु गर्नु भएको हो । सिटीभिटीको ६५ दिने फुल खेती सम्बन्धी तालीम र धनगढी उपमहानगरपालिकाको २ हप्ताको तालिम लिई सके पछि उहाँले फुल खेती सुरु गरेका हुन् । अहिले उहाँ २ बिगाहा क्षेत्रफलमा फुल खेती गरिरहेका छन् । कृषि निर्देशनालयको ५० प्रतिशत अनुदान र १० प्रतिशत धनगढी उपमहानगरपालिकाको र ४० प्रतिशत आफ्नो लगानीमा फुल खेती गरिरहनु भएको छ । फुल खेतीबाट अहिले उहाँ घरपरिवारको पालन पोषण सहित छोरा छोरीको पढाई खर्च जोहो गरिरहनु भएको छ ।

उहाँको घर वरपर रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने जो कोही लालायित बनाउँछ । सहरी क्षेत्रमा बढ्दो आवास निर्माणले हरियाली हराउँदै गएको छ । मानिस हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रङ्गी विरङ्गी फूल रोपेर सुन्दर बनाउन चाहने कारणले उक्त फूलवारि सबैको आकर्षणको केन्द्रका रूपमा बदलिएको छ । व्यावसायिक फूल खेतीका लागि धनगढीको हावापानी राम्रो भएको उनको भनाइ छ । विसं २०८० मा रु १लाख ३५ हजार लगानीमा २ बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक फूल खेती सुरु गरेको उहाँले सुनाए । उहाँले सयपत्रीलगायतका आधा दर्जन बढी थरिका फूल उत्पादन गरेका छन् ।
यस्तै यस फूलबारीमा २ जनाले स्थायीरुपमा मासिक पारिश्रमिक पाउने र ४ जनाले दैनिक गरी ६ जनाले ज्यालादारी रूपमा रोजगारी पाएका विष्टको भनाइ छ। फुर्सदको समयमा महिलाले दिनभर काम पाएपछि घर खर्च जुटाउन सजिलो भएको छ । दिनभर काम गरेपछि पैसा सजिलै पाउने भएपछि महिला खुसीका साथ फूल खेतीमा झुमिएको उहाँको भनाई छ । फुल उत्पादन राम्रै भए पनि बजार अभाव र भारत लगायतबाट आयात हुने फुलका कारण फुल बिक्रीमा समस्या भएको उहाँले दुखेसो पोख्नु भयो ।उहाँले भन्नु भयो “नजिकै खुला सीमा नाका भएका कारण बाहिरबाट फुल आयात भएर हाम्रो फुल नबिक्ने ,कुहिएर जाने त्यतिकै फाल्नु पर्ने समस्या छ । भारतीय बजार सँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । ”

स्थानीय तह ,प्रदेश र केन्द्र सम्म कृषि सम्बन्धी नीतिका कारण झन् मार खेप्नु परेको उहाँले गुनासो गरे । मल र बिउ बिजनको लागी अरू देशको भर पर्नु पर्ने भएका कारण झन् समस्या भएको उहाँले बताए । उहाँले भन्नु भयो “ मल र बिउ बिजन खरिद गर्दा व्यापारी मार्फत हामी किसान सम्म पुग्छ । हामी किसान सम्म पुग्दा मूल्यको ५/६ गुणा बढेर आउँछ । बिउको गुणस्तरको भरपर्दो माध्यम नभएका कारण बिउमा पनि ठगिने समस्या छ । ” सरकारले दिने अनुदान र कृषि सामग्रीहरू सिधै किसान सम्म पुगेको भए सजिलो हुने उनको भनाई छ । व्यापारीहरूले पनि स्थानीय स्तरको फुलको मूल्य भारतको भन्दा बढी भएका कारण खरिद गर्न नमान्ने अवस्था रहेको उनले बताए । उहाँले भन्नु भयो “ हामीले उत्पादन गरेका फुलहरू भारतको भन्दा महँगो पर्ने भएकाले व्यापारीहरूले हाम्रो फुल किन्दैन । त्यत्तिकै खेर जान्छ ।”

फुल उत्पादनलाई वृद्धिमा जोड दिन नमुना किसान छनोट गरेर फुल खेतीलाई व्यावसायिक बनाउने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरि प्रसाद पनेरुले बताए । उहाँले भन्नु भयो “ आयातित फुलहरूलाई निरुत्साहित गरेर उत्पादनलाई अगाडी बढाउने योजना छ । आगामी आर्थिक वर्षमा उत्पादनको लागत न्यूनीकरणको लागी विभिन्न किसिमको सहुलियत दिने र अनुदानका कार्यक्रम सञ्चालन हुने छन् । यसका लागी आवश्यक बिउ, विषादी, मल दिन सक्यो भने उत्पादन बढ्ने छ । ।”भारत लगायत बाहिरबाट आउने फुलहरूलाई नियन्त्रण गर्न भन्सारमा कडिकडाउ गर्न सङ्घ सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
किसानलाई व्यवसायीकरण तर्फ आकर्षण गर्नको लागी विभिन्न कार्यक्रम गरिरहेको कृषि विकास निर्देशनालय डोटीका कृषि प्रसार अधिकृत राजेन्द्र बमले बताए । विभिन्न जिल्लाका तरकारी खेती गर्ने किसानलाई घरमै कम्पोस्ट मल बनाउने तालिम समेत दिएको उनले बताए ।“ किसानहरूलाई विभिन्न यन्त्र उपकरण दिएर सहयोग गरेका छौ । कृषि विकास निर्देशनालयले विभिन्न जिल्लामा कृषि जन्य उपज भण्डारणको लागी कुल च्यामबर निर्माण गरेका छौ । ”