नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगञ्जमा बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा तीन जना नेता सहभागी भएनन् ।
पार्टी सभापति देउवा विरोधी खेमाको नेतृत्व गरिरहेका पार्टी नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर केही केन्द्रीय सदस्यहरु भने देउवाको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएका छन् । विहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा असन्तुष्ट पौडेल–सिटौला पक्षधर केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।
पौडेल गुटका केन्द्रीय सदस्य डा। नारायण खड्का, चीनकाजी श्रेष्ठ र गोविन्द भट्टराई सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । सिटौला गुटका भए पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईं पनि विहीबारको बैठकमा उपस्थित भए ।
सिटौला पक्षधर केन्द्रीय सदस्यहरु गगन थापा र प्रदीप पौडेलले संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएका छन् पार्टीको १३औं महाधिवेशनमा नेता पौडेल पक्षधरबाट केन्द्रीय सदस्यमा निर्वाचित आनन्दप्रसाद ढुंगाना गुट परिवर्तन गरी देउवा समूहमा गएका छन् ।
त्यस्तै, पौडेल पक्षधरबाट केन्द्रीय सदस्यमा निर्वाचित कुलबहादुर गुरुङ भने संस्थापन पक्ष र पौडेल पक्ष कुनै गुटमा पनि सहभागी छैनन् ।
आठ दशक उमेर पार गरेका गुरुङ स्वास्थ्यका कारण पार्टी केन्द्रीय कार्यसमितिका सबैजसो बैठकमा अनुपस्थित हुँदै आएका छन् । शारीरिक रुपमा असक्त भएका केन्द्रीय सदस्य नरहरी आचार्य केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भए पनि उनी पनि देउवा र पौडेल दुवै पक्षमा छैनन् ।
यता, पार्टी सभापति शेबरहादुर देउवाको कट्टर बिरोधीका रुपमा चिनिएका नेता डा। शेखर कोइराला र तेश्रो धारको नेतृत्व गरिरहेका सिटौला दुवै जना केन्द्रीय कार्य समिति बैठक र पौडेल समूहको बैठक, भेला र पत्रकार सम्मेलनमा समेत उपस्थित छैनन् ।
२६ मंसिरदेखि सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका नेता सिटौला र डा। शेखर कोइराला पार्टीको कार्यक्रम लिएर प्राय झापा र मोरङका कार्यक्रममा सहभागी हुने गरेका छन् ।
२६ मंसिरको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएर आफ्नो भनाई राखेर वाहिरिएका केन्द्रीय सदस्य महेश आचार्य १७ पुसमा बोलाइएको बैठकमा समेत उपस्थित भएर बैठक शुरु हुनुअघि वाहिरिएका थिए ।
नेता सिटौला भने २९ मंसिरमा बोलाएको केन्द्रीय कार्यसमितिको बैठक हुनुअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर बैठक स्थगित गर्न लगाएका थिए ।
संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै त्यसबिरुद्ध लागेका असन्तुष्ट नेताहरु भने एकै ठाउँमा उभिएर सभापति देउवाको क्रियाकलापको विरोध गर्न सकेका छैनन् ।