धनगढी,३१ वैशाख । सुदूरपश्चिममा फेरि प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयले उक्त दिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । मुख्यमन्त्री सोडारीको विश्वासको मतका लागि बोलाइएको यो तेस्रो पटक हो ।
उनले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो । अझै पनि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताएका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय छ ।