धनगढी, ५ बैशाख / पिएफए स्पोटर्सले सुदूरपश्चिम राजधानी मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पिएफएले वैशाख १४ गतेदेखि अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप आयोजना गर्न लागेको हो । बुधवार प्रतियोगिताका बारेमा जानकारी दिन अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पिएफएकी उपाध्यक्ष भगवती साउँदले पाँचौ संकरणको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने बताइन् ।
उनले प्रतियोगितामा सुदूरपश्चिमका क्लबहरूले सहभागिता हुन सक्ने बताइन् । फुटबलको माध्यमबाट सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा चिनाउनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख, द्धितिय हुने टिमलाई १ लाख सँगै मेडल र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र मैदान खेलाडीलाई पनि १०र१० हजार प्रदान गरिने छ । प्रतियोगिताका सबै खेलको म्यान अफ द म्याचका लागि पनि ३३ हजार रुपैयाँ छुट्ट्याइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई पनि १० हजार प्रदान गरिने छ ।
आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख लाग्ने अनुमान गरेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ८ हजार तोकिएको छ । प्रतियोगिता गोदावरी – २ मा रहेको बनदेवी युवा क्लबको खेल मैदानमा खेलाइने पिएफए स्पोटर्सका महासचिव सिद्ध बोहराले बताए । प्रतियोगिता वैशाख २२ गते सम्म सञ्चालन हुने छ ।