धनगढी, २५ चैत/ भारतको पलियामा दुईदेशिय सुरक्षा अधिकारीहरु बिच नेपाल भारत समन्वय बैठक भएको छ । भारतको लोकसभा निर्वाचन २०२४ लाई सिमामा हुने अपराधिक गतिबिधी रोक्न, सुरक्षा चुनौतिको रणनीति बनाउने उद्देश्यले भारत–नेपाल समन्वय समितिको बैठक शनिबार एसएसबीको ३९ औँ कोर गदनिया पलियाको सभागृहमा बसेको हो ।
जसमा दुई देशबीच लोकसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र सूचना आदानप्रदान गर्ने सहमति भएको थियो । नेपाली अधिकारीहरूले पूर्ण सहयोग गर्ने आश्वासन दिए। बैठकमा लोकसभा चुनावलाई ध्यानमा राखी सीमामा सतर्कता अपनाउने, अपराधीलाई नियन्त्रण गर्नेलगायतका विषयमा छलफल भएको थियो । बैठकमा अधिकारीहरूले लोकसभा चुनावलाई ध्यानमा राखेर सीमामा विशेष सतर्कता अपनाउन छलफल गरेका थिए ।
साथै लागूऔषध ओसारपसार, अन्तर्राष्ट्रिय सिमानाका दुबै छेउमा अपराधीले संरक्षण नपाउने गरी सीमाका दुवै तर्फका अपराधीलाई कसरी पक्राउ गर्ने, लगायतका महत्वपूर्ण विषयमा छलफल गरी कार्ययोजना बनाएको थियो । त्यसैगरी बैठकमा भारतसँगै नेपालले पनि आफ्नो क्षेत्रमा नाकाबन्दी निर्माण गर्ने र सीमा नाघेका अराजकतावादीहरुको निगरानी गर्ने निर्णय गरेको छ । यससँगै दुवै देशले आ–आफ्नो देशमा सक्रिय अपराधीको सूची तयार गरी एकअर्कालाई बुझाउने छलफल भएको बताईएको छ ।
नेपालका दुवै प्रमुख जिल्ला अधिकारीले लोकसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतमा हुन लागेको लोकसभा निर्वाचनको नमुना आचारसंहितामा नेपालले पूर्ण सहयोग गर्ने बताएका छन् । भेटमा कैलाली र कञ्चनपुर सुरक्षा अधिकारीहरुले लोकसभा निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालले पूर्ण सहयोग गर्ने बताएका छन् । यस चुनावी पर्वमा सहयोगको अपेक्षा गर्दै डिएम महेन्द्रबहादुर सिंहले जति सहयोग प्राप्त हुन्छ त्यति नै निर्वाचन सञ्चालन गर्न सहज हुने बताएका छन् ।
बैठकमा नेपालका पक्षबाट प्रमुख जिल्ला अधिकारी (सिडिओ) कैलाली धर्मेन्द्रकुमार मिश्र, प्रमुख जिल्ला अधिकारी (सिडिओ) कञ्चनपुर गोपाल कुमार अधिकारी, एसपी कैलाली पदम बी विष्ट, एसपी कञ्चनपुर चक्रदास जोशी, एसपी (एपीएफ) दलबहादुर पाण्डे, खगेन्द्रबहादुर चन्द्र, एसीडीओ किरण जोशी, धर्मराज जोशी, डीएफओ कैलाली रामचन्द्र कडेल, डीआरडी नरेश बहादुर, कैलाली भन्सार अधिकृत राजेन्द्र कुमार हमालको सहभागिता रहेको थियो ।
उता भारतका पक्षबाट डीएम महेन्द्र बहादुर सिंह, एसपी गणेश प्रसाद साह, डीडी दुधवा रंगराजू, एसडीएम कार्तिकेय सिंह, अश्विनी सिंह, सीओ यवेद्र यादव, डीईओ राजवीर सिंह, कमान्डेन्ट घढ बटालियन राजेश सिंह, कमान्डेन्ट द्धढ बटालियन शेर सिंह, कमान्डेन्ट थर्ड बटालियन देव बटालियन कमान्डेन्ट देव आनंद, अतुल कार्कीको उपस्थिति रहेको थियो ।