धनगढी, पुस ११- धनगढीमा हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह–प्रायोजकको रुपमा धनगढीको सिपी हस्पिटल र विशेष अटोमोबाईल्स रहने भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह–प्रायोजकको रुपमा सिपी हस्पिटल र विशेष अटोमोबाईल्ससँग सम्झौता गरिएको छ । विशेष अटोमोटिभ्सलाई ईनएसोसिएनस विईथ तथा सिपी हस्पिटललाई वुष्ट वाई भनेर अवार्डमा स्थान दिईनेछ ।
सिपी अस्पतालका तर्फबाट अस्पतालका निर्देशक रमेश पाण्डेय र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सल्लाहकार दिपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सह–प्रायोजकको रुपमा सिपी हस्पिटललाई अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अवार्डको सफलताको कामना गर्दै अवार्डलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो । पाण्डेय आफै पनि सफ्ट टेनिसको राष्ट्रिय खेलाडी हुनुहुन्छ । मिर्गौला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल सञ्चालनमा रहेको छ । वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्यचिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा प्रदान गरिरहेको अस्पतालमा २४ घन्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे सेवा रहेको छ ।
यस्तै विशेष अटोमोबाईल्सका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सल्लाहकार दिपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । विशेष अटोमोबाईल्स धनगढीका हिरो मोटरसाईकलको आधिकारिक विक्रेता हो । सम्झौतापछि वोल्दै सञ्चालक पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गर्दै अवार्डमा निजि क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत सवै निजि क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्नुभयो ।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको छ । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।
मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।