धनगढी, १ चैत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको गठबन्धन कच्चा नभएको बताएका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै ओलीले एमाले–माओवादीले लामो छलफल र योजनापछि मात्र पूराना गठबन्धन भत्काएको दाबी गरेका हुन् ।
‘मैले पहिल्यैदेखि भन्दै आएको थिए, खरानीको डल्लो भिजे पनि फुट्छ, सुके पनि फुटछ । अहिलेको यो गठबन्धन भवितव्य भएर बनेको होइन,’ ओलीले भने, ‘राष्ट्रियता बचाउन लामो हिसाब किताब गरेर बनाइएको हो । यो कच्चा हुदैन् ।’ ओलीले अहिलेको गठबन्धन रातारात विदेशीले बनाइदिएको भनेर विभिन्न ढंगले कुराकानी चलेको बताउँदै त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
‘उहाँहरूलाई हाम्रो गठबन्धन फलाम भन्दा बलियो स्पात हो भन्ने लागेको थियो । १० वर्ष केही हुदैन भन्नुहुन्थ्यो । कांग्रेसले कुरा सुन्न छोडिदियो । कांगेसले भुई छोड्यो,’ उनले भने, ‘यो गठबन्धन एकै रातमा प्लटाइयो भनिएको छ । के एकरातमा पल्टाउन नपाइने हो र उहाँहरुले थाहा पाउदा ढलिसकेको थियो तर पहिलेदेखि थियो ।’
अहिलेको गठबन्धन चिनले बनाइदिएको भन्ने गरिएको बताउँदै उनले अघि भने, ‘यो हामी नेपाली आफैले बनाएको गठबन्धन हो । यति काम गर्न चिन, अमेरिका चाहिदैनन् हामी आफै सक्छौँ ।’ कांग्रेसले सत्ताबाहेक अरु कुनै कुरा नदेखेका कारण नयाँ गठबन्धन बन्दा उसले चाल नपाएको दाबी ओलीको थियो ।
नयाँ गठबन्धन सरकारले देशमा विकास र समृद्धि ल्याउने बताउँदै उनले देशले सही समातेको दाबी गरेका छन ।