धनगढी, २० फागुन / नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकले ढुकुटीको सिल तोडेको विषय बाहिर आएपछि उनको सरुवा गरिएको छ।
कञ्चनपुरको महेन्द्रनगर घर भएका लेखकलाई कारबाही स्वरुप काठमाडौं सरुवा गरिएको छ। नेपाल राष्ट्र बैंकको ढुकुटीको सिल तोडेपछि उनलाई काठमाडौं सरुवा गरिएको छ। अहिले राष्ट्र बैंक धनगढीको निमित्तको जिम्मेवारी शान्ति पाण्डेलाई दिइएको छ। लेखकले तीन साताअघि नेपाल राष्ट्र बैंक धनगढीको ढुकुटीमा लगाइएको सिल तोडेपछि उनि अनुसन्धानमा तानिएका थिए । अनुसन्धानको लागि केन्द्रीय कार्यालय काठमाडौँले एउटा टोली खटाएको थियो।
अनुसन्धानबाट बिहानको समयमा बैंकको ढुकुटीमा पुगेर ढोकामा लगाएको ‘सिल’ तोडेर लेखक नै फर्किएको खुलेको छ। उनलाई राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा अतिरिक्त समूह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ ।
ढुकुटीमा सिल भएको स्थानमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ। ढुकुटीका ढोकामा समेत तीनवटा ताल्चा लगाइएको हुन्छ।
ती ताल्चा अनधिकृत ढंगले खोलिन्छन् कि भनेर त्यसलाई काँचो धागोले बाँधेर लाहा छाप लगाउने र सुरक्षाको जिम्मा पाएका व्यक्तिहरूलाई साक्षीका रूपमा सनाखत गराएर मात्र कर्मचारीहरू घर जान्छन् । हरेक दिन साँझ ५ बजे ढुकुटीमा बलिया ताल्चा लगाइन्छ। लगाइएका चाबीहरूमध्ये एउटा कार्यालय प्रमुख, अर्को क्यासियर र तेस्रो कार्यालय प्रमुखले तोकेको व्यक्तिको जिम्मा लगाइन्छ।
साँझ ५ बजेदेखि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा हरेक कार्यालयका ढुकुटी राखिएको हुन्छ। यस्तोमा पनि धनगढी कार्यालयको सिल तोडिएको अवस्थामा भेटिएपछि छानबिन सुरु गरिएको थियो। यही फागुन २ गतेदेखि राष्ट्र बैंक धनगढी निर्देशक विहिन अवस्थामा रहेको र अहिलेसम्म नयाँ निर्देशकको रुपमा कोहि पनि नआएको राष्ट्र बैंक धनगढीका निमित्त निर्देशक शान्ति पाण्डेले बताएका छन्।