काठमान्डौँ, ९ फागुन / आईसीसी क्रिकेट वर्ल्डकप लिग टु मा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।
नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे।
