धनगढी, २३ मंसिर/कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ’बि’ बाट युथ अफ टिकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको छ।
आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समुह चरणमा तिन वटै जितको साथ सेमीफाइनलमा स्थान सुरक्षित गर्यो। युथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।
कैलालीको ब्याटिंगमा कप्तान दिपक कपडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। युथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिंदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १/१ विकेट लिए। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।
टिकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैठौं विकेटको लागि ५५ रनको साझेदारी गरे। कैलालीको बलिंगमा अभिषेक कुँवर र सुसिल बिस्टले २/२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए। दिनको दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।