काठमाडौंः प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी वर्ष २०७७ को फागुनमा १५ गते गर्ने गरि खाका तयार पारेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले १४औं महाधिवेशनको कार्यतालिका ल्याउन माग गर्दै लगातार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि संस्थापन पक्षले महाधिवेशनको प्रारम्भिक खाका तयार पारेको हो ।
देउवा समूहभित्र प्रारम्भिक रुपमा तयार पारिएको महाधिवेशनको कार्यतालिकामा २०७७ साल फागुन १५ गते पार्टीको १४औं महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
पार्टीको विधानअनुसार सामान्य अवस्थामा चार वर्षमा महाधिवेशन हुनुपर्ने र त्यो अवधिमा नभए अर्को एक वर्ष थप्न सकिने व्यवस्था अनुरुप देउवाले १ वर्ष कार्यकाल थपेर महाधिवेशन गराउन लागेका हुन् ।
उक्त प्रस्तावमा अधिवेशनको प्रक्रिया २०७७ साल भदौ महिनादेखि सुरु हुने र दसैँ तिहार अगाडि गाउँ तथा नगरपालिकाको अधिवेशन सक्ने प्रस्ताव गरिएको छ। त्यस्तै दसैँ तिहार लगत्तैपछि क्षेत्रीय अधिवेशन, पुसको पहिलो हप्ताभित्र जिल्ला अधिवेशन र पुस १५ गते प्रदेश अविधेशन सक्ने बताइएको छ ।