कञ्चनपुर/ दोधरा चाँदनी जोड्ने चार लेन पुलको काम रोकिएको छ । गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम रोकेको हो । ०७४ देखि निर्माण सुरु भएको पुल आयोजना अन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।
गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ । यसैगरी पुलको दुवैतर्फ निर्माणाधीन गाइबन्ड पोखरीको तटबन्धको काम पनि अन्तिम चरणमा छ ।‘यो वर्षभित्रै काम सक्ने लक्ष्य छ, तर वजेट अभावले काम रोक्नुपर्ने अवस्था आयो,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘गत वर्ष काम गरेको पनि भुक्तानी हुन बाँकी छ, यो वर्ष पनि धेरै काम भइसकेको छ, तर भुक्तानी बाँकी नै छ ।’ उनले तत्काल रकम भुक्तानी नभए काम रोक्न बाध्य हुनुपर्ने बताए ।
कामदारको भुक्तानीदेखि निर्माण सामग्री खरिदमा समेत समस्या भएको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी छ । गत वर्ष २२ करोडको काम भएको थियो । जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ । यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताए । पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको हो । डिजाइन परिवर्तन भएपछि भेरिएसन गर्न बाँकी छ ।