काठमाडौं, १० असोज / नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।
मंगोलियाविरुद्ध नेपालले जारी खेलमा २० ओभरको खेल सकिँदा ३१४ रन बनाएको छ । नेपालका लागि कुशल मल्ल १३७ रन बनाएर रेकर्ड बनाएका छन । उनलाई १० बलमा ५२ रन बनाएका दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् ।
कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो ।
हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।
