धनगढी, ७ भदौ / कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ वटा विद्यालयको गत शैक्षिक सत्रमा कक्षा ८ मा नतिजा शून्य आयो। कक्षा ८ को परीक्षामा एक जना पनि उत्तीर्ण नहुने सामुदायिक विद्यालयहरु मात्रै १६ वटा थिए। एक संस्थागत विद्यालयको नतिजा शून्य आएको थियो। विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थीसँग शैक्षिक सामग्री अभावका कारण नतिजा शून्य भएको तर्क गरेका थिए।
तर, केही शिक्षकहरुले भने विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको सिकाइ कमजोर हुने गरेको बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को भैरवबाबा आधारभूत विद्यालयका शिक्षक पवित्रा भट्टले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले राजनीति गर्दै आएको बताइन्। उनले भनिन्, ‘शिक्षकहरु बढी राजनीति गर्नुहुन्छ। पार्टीगत रुपमा शिक्षक भर्ना गरिन्छन्। विद्यालयमा पनि मेरो यो पार्टी तेरो यो पार्टी भनेर राजनीति बढी हुन्छ। अनि पढाउने शिक्षकलाई पनि हतोत्साहित गर्ने गरिन्छ। राजनीतिक दबाब दिने गरिन्छ। प्रअहरु पनि यस्तै थिए। राजनीतिक लविङ्ग गर्ने, पढाउने शिक्षकलाई पनि हतोत्साहित गर्ने। आफ्नो पार्टीका शिक्षकले विद्यालय नआउदा पनि हुने।’ उनले राजनीति शक्ति भएका शिक्षकले विद्यालयमा नपढाउदा पनि तलब सुविधा पाउँदै आएको बताइन्।
धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु अध्यापन भन्दा बढी राजनीतिक गतिविधिमा तल्लीन हुने गरेको गुनासो अभिभावकहरुले गर्दैै आएका छन्। निर्वाचनको समयमा शिक्षकहरु पार्टीको प्रचारप्रसारमा समेत जाने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। यसै बेला धनगढीका शिक्षकहरुले राजनीतिक पहुँचको भरमा शिक्षक भना गर्र्नेदेखि शक्तिमा भएका शिक्षकले पठन–पाठन नगर्ने गरेको बताएका छन्। विद्यालयमा शिक्षकहरु बिच पनि राजनीतिक पार्टी र फरक खेमा र गुटका कारण द्धन्द हुने भएकाले काम गर्ने अर्थात मेहनत गर्ने शिक्षहरु पेलानमा पर्ने गरेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को खप्तडी आधारभूत विद्यालयका प्रधानाध्यापक फूलदेव साहले संस्थागत विद्यालयका शिक्षकभन्दा सामुदायिक विद्यालयका शिक्षकको तलब सुविधा रकम धेरै हुने बताए। तर, संस्थागत विद्यालयका शिक्षक विद्यालयको पूर्ण समय अध्यापन गराउने तर, सामुदायिक विद्यालयका शिक्षहरुले मनोमानी गर्दै आएको उनले बताए। उनले भने, ‘हामीलाई अबेला गए पनि हुने। चाँडै घर गए पनि हुने। धनगढीका धेरै विद्यालयमा यो समस्या छ।’
सामुदायिक विद्यालयका शिक्षकको सुविधा संस्थागतका शिक्षक भन्दा दोब्बर भन्दा धेरै हुन्छ। तर, संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको सिकाइ प्रगति कमजोर हुने गरेको छ। सामुदायिक विद्यालयका शिक्षकहरुमा पठन पाठनको इच्छाशक्ति नभएकाले सामुदायिक विद्यालयकहरुको सिकाइ उपलब्धि कमजोर रहेको बुझाइ धेरैको छ।
राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गुणस्तर काजोर भएको तर्क गरिएको छ। गत वर्ष धनगढी उपमहानगरपालिका भित्रका एक संस्थागत र १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीको कक्षा ८ को नतिजा शून्य भएको थियो। गत शैक्षिक सत्रमा शून्य नतिजा आएका विद्यालयका शिक्षकहरुले राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयहरुको पठनपाठन र सिकाइ उपलब्धि प्रभावित हुने गरेको बताएका हुन्।
उनीहरुले शिक्षक भर्नादेखि विद्यालयमा पठन–पाठनको समयमासमेत राजनीति हुने गरेको दाबी गरेका छन्। राजनीतिक दलको आडमा काम नगर्ने शिक्षकलेसमेत सामुदायिक विद्यालयबाट तलब सुविधा लिँदै आएका उनीहरुले बताएका हुन्।