महेन्द्रनगर, २६ साउन / वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेका छन्। अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ।
वडाध्यक्ष नरेन्द्रबहादुर बोहरा आफू पनि ठेकेदार हुनुहुन्छ। बोहराले विगतदेखि नै प्राकृतिक सम्पदाको दोहन गरेर लाभ लिँदै आएको आरोप स्थानीयवासीको छ। वडाध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अगाडि सारेर उनले खोलाबाट ढुङ्गालगायत वस्तु निकाल्ने गरेको आरोप स्थानीयको छ।
“वडाध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन्, सामुदायिक वनभर ढुङ्गा थुपारेको देख्न सकिन्छ,” स्थानीय रघुवीर भट्टले भने, “सबै जना वडाध्यक्षबाटै परिचालित हुन्” ढुङ्गा गिट्टी थुपार्ने र खोला बन्द भएको बेला बेच्ने वडाध्यक्ष बोहराको पुरानै धन्दा हो।”
उक्त आरोपका सम्बन्धमा वडाध्यक्ष बोहराले भने, “मैले त्यस्तो काम गरेको छैन, सबै काम भाइले गर्छ। के गर्ने रु कसरी चल्ने रु कि त घुस खान प९यो, कि केही काम गर्न प९यो भाइले ठेक्कापट्टालगायतका मेरो काम पनि हेर्ने गरेको छ।” तटबन्ध निर्माणको ठेक्का लिएको निर्माण कम्पनी एमडी ग्रुपले भने वडाध्यक्ष बोहराले आफूले जम्मा गरेको ढुङ्गा नकिनेका कारण तटबन्ध निर्माणको काममा अवरोध गरिराखेको आरोप लगाएको छ।
“हामीले काम गर्न खोज्दा वडाध्यक्षले प्रहरी लगाएर काममा अवरोध गराउँदै आएका छन्,” एमडी ग्रुपका सञ्चालक अमर मल्लले भने, “यसै खोलाको तटबन्धको काम गरिरहेका छौँ, अरूले ढुङ्गा उत्तिकै पनि उठाइरहेका छन्, विपत्को काम भएकाले यहीँको ढुङ्गा प्रयोग गर्न नदिने भन्छन।”
उहाँले ७० प्रतिशत काम पूरा भए पनि वडाध्यक्षको अवरोधले काम रोकिएको गुनासो गरे। वडाध्यक्ष बोहराले आफ्नो काममाथि अवरोध गरिरहेको मल्लको दुःखेसो छ।
वडाध्यक्ष बोहराले आफूले कुनै पनि ढुङ्गा सङ्कलन नगरेको बताउनुभयो। विगतमा आफू ठेकेदार भए पनि अहिले जनप्रतिनिधि भएकाले ढुङ्गा सङ्कलन गरेर जम्मा नगरेको उनको भनाइ छ।
असार १ देखि बर्सातका कारण जिल्लाका नदी र खोलामा उत्खनन कार्य बन्द गरिएको छ तर वेदकोटको बगुन खोलामा गैरकानुनी दोहन भइरहेको छ। खोला नदीनाला बन्द गरिए पनि बगुन, साजगाडलगायतका खोला नदीमा गैरकानुनी रूपमा ग्राभेल, ढुङ्गा उत्खनन (चोरी, तस्करी) भइरहेको हो।
ट्याक्टर धनी, ठेकेदारले वडाध्यक्षको संलग्नतामा नदी खोला अवैध ढुङ्गा सङ्कलन एवं नदी खोला दोहन गर्न लगाइरहेको आरोप स्थानीयको छ। पालिकाले टेन्डर खोलेर रोयल्टी सङ्कलन गर्दा मापदण्डविपरीत उत्खनन हुँदा खोला कुरूप बन्नेदेखि गाउँमा बाढी, विपत्का घटना हुन सक्ने सम्भावना बढेको छ।
वडाध्यक्ष बोहराले कुनै ठेकेदारलाई ढुङ्गा लैजान दिएको र कसैलाई रोकिरहेको स्थानीय बताउँछन्। “कटानीको उच्च जोखिममा रहेको यो ठगुरी टोलमा एमडी ग्रुप निर्माण सेवाले तटबन्ध निर्माण गरिरहेको थियो,” स्थानीय भानबहादुर महराले भने, “वडाध्यक्ष बोहराले तटबन्धको काममा खटिएका ट्याक्टरलाई रोकेर प्रहरीलाई बुझाइदिए, नजिकै रहेको अर्को तटबन्धमा ढुङ्गा लग्न दिएनन्।” विगतकै ढुङ्गा हाल्दासमेत वडाध्यक्षबाट तटबन्ध रोक्ने काम भएको उहाँले बताए।
वेदकोटको बगुनसिद्ध वैजनाथ सामुदायिक वनका अध्यक्ष राजेन्द्र भण्डारीले गैरकानुनी ढुङ्गा चोरी तस्करी नियन्त्रणका लागि सामुदायिक वनको एक्लो प्रयासबाट समस्या भइरहेको बताए। बगुन खोला दोहन गर्ने ट्याक्टरलाई हामीले नियन्त्रणमा लिन खोज्दा उल्टै धम्की आउँछ, उनले भने, “सामुदायिक वनबाट रोक्ने प्रयास जारी छ।”