धनगढी २० मंसीर- धनगढी उप–महानगरपालिका १४ फूलवारीमा निमार्ण भएको बृद्धाश्रम समय अगावै निर्माण भएको छ ।
२०७४ फागुन २९ गते ठेक्का सम्झौता भइ २०७६ फागुन २८ गते निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र रुद्रावति जे.भी धनगढीले ठेक्का लिएकोमा सम्झौता अगावै काम सम्पन्न भएको हो । सम्झौता मिती भन्दा ४ महिना अगावै ठेकेदार कम्पनीले काम पुरा गरी उदारणीय काम गरेको छ ।
धनगढीमा सञ्चालन भएका सयौ योजनाहरु काम नभएर अलपत्र भइरहेका समाचार सार्वजानिक भइरहदा फूलवारी बृद्धाश्रम भने सम्झौता अगावै सकिएको हो । जिल्लामा निर्माणधिन अन्य योजना मध्ये फूलवारी बृद्धाश्रमको कार्य भने तिब्र गतिमै भइ काम सम्पन्न भएको स्थानीयको भनाई छ ।
सम्झौता अवधी अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत हुने भएपछि ठेकेदार कम्पनीले कामलाई तिब्रता दिएको जनाए । बृद्धाश्रमको सिलान्यास भएदेखिनै ठेकेदार कम्पनीले तिब्र गतिमा काम गरेको थियो, सोही अनुसार सम्झौता अवधी भन्दा झन्डै ४ महीना अगाडिनै बृद्धाश्रम निर्माणको कार्य सम्पन्न भएको छ ।
६ ओटा भवन, ग्यारेज र बाटो निर्माणको भ्याट समेत गरी कुल लागत ६ करोड ३६ लाख १७ हजार ७ सय २८ रुपयाँ रहेको निर्माण कम्पनीका सञ्चालक किशोर ठकुराठीले जानकारी दिए । पुल निर्माणमा स्थानीय वा सम्बन्धित कुनै पक्षलाई गुनासो गर्ने बाटो बाँकी नराखी काम भएको ठकुराठीले जनाए ।
समयमै बजेट निकासा नहुने, साइड नपाईने लगाएतका समस्याका बाबजुतपनि तिब्र गतिमै काम भएकाले समय अगावै निर्माण सम्पन्न भएको उनको भनाई रहेको छ ।