काठमाण्डौ – नेपालका लागि बेलायतका आवासीय राजदूत निकोला क्याथरिन पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । यसअघिका राजदूत रिचर्ड मोरिसको कार्यकाल समाप्त भएपछि बेलायतले पोलिटलाई नेपालको राजदूतमा नियु्क्त गरेको हो ।

पोलिटले यसअघि बेलायती मन्त्रीपरिषदमा रहेर अफगानिस्तान, पाकिस्तान र भारत मामिला हेर्नुभएको थियो ।
नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको दुई सय वर्षपछि बेलायतले पहिलो पल्ट नेपालका लागि महिला राजदूत नियुक्त गरेको हो । बेलायत नेपालले कुटनीतिक सम्बन्ध बनाएको पहिलो राष्ट्र पनि हो । सन् १८१६ मा नेपालसँग बेलायतले कुटनीतिक सम्बन्ध कायम गरेको हो ।

बेलायतसँग कुटनीतिक सम्बन्ध कायम गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र पनि हो । नेपालले बेलायतमा सन १९३४ देखि राजदूतावास पनि स्थापना गरेको थियो ।
त्यसै समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
