बाजुरा २७, असार । बर्खा सुरु भएसँगै बाजुराको मार्तडी कोल्टी सडक अवरुद्ध बन्दै गएको छ । एक वर्ष पहिले कालोपत्रे हुनुपर्ने सो सडकको निर्माण कार्यमा ढिलाइ हुँदा बर्खाको सयममा अवरुद्ध बन्दै गएको हो ।२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुई वटा ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिए पनि सो सडक अहिलेसम्म बनेको छैन । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिए पनि सडक निर्माणको काम भने समयमै सम्पन्न गर्न नसकेपछि बर्खाको समय अवरुद्ध बन्दै गएको यहाँका स्थानीयवासी बताउँछन् ।
मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको थियो ।
जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय आवतजावतमा समस्या भएको छ । बूढीनन्दा नगरपालिका ७ का स्थानीय दान रोकायाले, लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा बर्खाको समय आवतजावतमा समस्या हुने गरेको बताए ।
चुथीदेखि ढम्कने सम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेका लिएका यज्ञ शाहीले तोकेको समयमै काम सम्पन्न नगरेपछि उहाँलाई पुनः म्याद थपेको थियो । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले २०७९ असार मसान्तसम्म मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।
धुलिखेल ग्याल्भा श्याम एण्ड शङ्कर प्रालिका काठमाडौंका प्रतिनिधि दीपेन्द्र शाहीले बर्खाको बेला काम गर्न समस्या भएको बताए । उहाँले गत वर्ष २०७९ को असारसम्म काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कामको जिम्मा लिएको हो ।
अहिले झण्डै ७५ प्रतिशत काम भइसकेको छ र बाँकी काम २०७९ को असार मसान्तसम्म नै सम्पन्न गर्ने उनले गतवर्ष नै जानकारी गराएको हो । हिउँदमा पोरखेलेखमा परेको बाक्लो हिम्पातका कारण बाटो अवरुद्ध भएपछि काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको बानियाँ कोेटेश्वर जे।बि हेटौडा प्रालिका प्रतिनिधि विष्णु रावतले बताए ।
मार्तडी कोल्टी सडक निर्माण कार्यका लागि तीन जनाले ठेका लिएको भए पनि सो सडकको कालोपत्रे नभएको स्थानीयले गुनासो गर्दै आएको छन् । मार्तडीको बसपार्कदेखि चुथीसम्मको ९ किलोमिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का र चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानियाँले जिम्मा लिएका छन् ।
मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २६ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएका छन् । एक पटक उनीहरुलाई म्याद सकिएकोले पुनः म्याद नथपिने गरी काम जिम्मा लिएको म्यादमै काम सम्मपन्न गर्न निर्देशन दिँदै आएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताए ।