आजको पत्रपत्रिकामा मेडिकल कलेजको मनपरी शुल्क, उप निर्वाचन, बैंक ठगी प्रकरणको विषयलाई प्रमुख समाचार बनाइएको छ । कान्तिपुर दैनिकले अख्तियारको पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पति राेक्का भएको विषयलाई प्रमुख समाचार बनाएको छ ।
कान्तिपुर लेख्छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संबैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो ।
विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनको नातेदार तथा व्यावसायिक साझेदारीमाथि छानविन गरिरहेको छ । त्यस्तै कान्तिपुरमा मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन ‘काम नगर्ने ठेकेदारको जमानत जफत गर्नुस्’ भन्ने समाचार लेखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सरकारको चौमासिक समीक्षा बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिए ।
अन्नपूर्ण लेख्छ :अटेरी मेडिकल कलेज शिर्षकमा प्रमुख समाचार लेखेको छ । अन्नपूर्ण लेख्छ– मापदण्डविपरीत शुल्क उठाइरहेका मेडिकल कलेजमाथि कारबाही गर्न सरकार असफल भएको छ । विद्यार्थीबाट गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता गर्न पटक पटक अल्टिमेटम दिए पनि मेडिकल कलेजले टेरेका छैनन् । सरकार भने अल्टिमेटमको मिति थप्दै कारबाही गर्नबाट पन्छिन खोजेको छ ।
नागरिक दैनिकलेख्छ : वीर अस्पतालको जग्गा व्यक्तिको नाममा रहेको समाचार लेखेकोे छ । प्रतिवेदन गुपचुप राखी जग्गाको विषयमा पुन छानविन समिति बनेको नागरिक दैनिकमा समाचार छ । वीर अस्पतालको गुठीको नाममा रहेको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले अर्को समिति गठन गरेको छ ।
