नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अघिल्लो पटक विदेशको ग्रीनकार्ड र पीआर लिने कर्मचारीलाई सरकारी सेवा गर्न रोक लगाएर वाहीवाही कमाए । तर, वर्तमान सरकारमा उनी सामान्य प्रशासन मन्त्री भएर उल्लेख्य काम त गर्न सकेनन् नै बरु उनको नाममा केही टाठाबाठा र बदनाम कर्मचारीहरुले लिनसम्म लाभ लिएको कर्मचारी स्रोत बताउछ ।
मन्त्रीको बदनाम गर्दै उनीहरुले लाभ लिएको उनले पत्तै पाउन नसकेका हुन् कि थाहा पाएर पनि उनले बुझ पचाएका हुन् भन्ने भेउ कर्मचारीले पाउन सकेका थिएनन् । स्रोत भन्छ, सामान्य प्रशासनतर्फको कर्मचारी प्रशासनका उपसचिव चन्द्र फुयाँल मन्त्रालयमा दिनभर देखिंदैनन् ।
अपराह्न ४ बजेपछिमात्र आउँछन् र सेटिङ मिलेका कर्मचारीको सरुवा सहमतिको प्रक्रिया मिलाउने गर्दछन् भन्ने आरोप छ । उनी प्रायः नेपाली कांग्रेसको संसदीय दलको चमेनागृहमा बिचौलियास“ग सेटिङ गरिरहेका हुन्छन् । मन्त्रालयमा भए पनि आफ्नो कार्यकक्षमा नबसी सहसचिवहरुको कोठामा बस्ने गर्दछन् । सामान्यको कर्मचारी प्रशासन शाखामा शाखा अधिकृत सन्तोष दाहाल केही दिनअघि मात्र सरुवा भएर आएका छन् ।
मन्त्री पण्डितले ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा जानकारी नदिई नगर्न सचेत गराएका थिए । मन्त्रीको जानकारीविना सरुवा गर्न नपाइने भएकाले उपसचिव फुयाँलले त्यसमा अर्को जुक्ति निकालेका थिए ।
फुयाँलले सरुवा हुने शाखा अधिकृत र उपसचिवसंग लेनदेन मिलाउने र उनीहरुलाई आफ्नो क्षेत्रका वा चिनजानका नेकपाका सांसद वा नेतामार्फत् मन्त्री पण्डितलाई फोन गर्न सिकाउने गरेको कर्मचारी स्रोत बताउछ ।
मन्त्री पण्डित पनि सांसद वा नेताको सिफारिस गरेको भनेर ढुक्क हुने गरेका छन् । तर, भित्रभित्रै सेटिङमा सरुवा हुने गरेको पत्तो समेत मन्त्री पण्डितले नपाउने गरेको स्रोत बताउँछ ।
यस्तो अवस्थामा अब नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कसरी सम्हाल्ने हुन् यो मन्त्रालय भन्ने प्रश्न खडा भएको छ ।
साभारः साँघु न्युज