धनगढी,१ भदौ। धनगढी उप–महानगरपालीका वडा नं. १९ मा निर्मित फुलबारी बसपार्क संचालनमा आएको छ । बसपार्कको निर्माण कार्य सम्पन्न भएको करिब एक बर्ष पछि भाद्र एक गते देखि संचालनमा आएको हो। साउन २९ गते धनगढी उप–महानगरपालीका मेयर, उपमेयर लगायत जनप्रतिनिधि सहित बसेको बैठकले भाद्र १ गते देखि संचालन गर्ने निर्यण गरेको थियो।
धनगढी उप–महानगरपालीका वडा नं. १९ का कार्यबाहक वडा अध्यक्ष हरेन्द्र ऐडीले फुलबारीमा चल्ने सबै बसहरु उक्त बसपार्कमा अनिवार्य प्रवेश गरी बाहिरिने जानकारी दिए। उनले फुलबारीमा संचालन गरीने अटोरिक्साहरु लाई समेत फुलबारी बसपार्क बाटै संचालन गर्न सरोकारवाला पक्ष संग छलफल गरी निर्णय लिइने बताए।
फुलबारी बसपार्कलाई भाद्र एक गते देखी माघ मशान्त सम्म निशुल्क रुपमा संचालन गर्न उप–महानगरपालीकाले मासिक दश हजार अनुदान दिने गरी सुदूरपश्चिम यातायात व्यवसायी समितिलाई सम्पुर्ण जिम्मेवारी दिएको वडा नं. १९ का कार्यबाहक अध्यक्ष हरेन्द्र ऐडीले बताए ।
फुलबारी बसपार्कका काउन्टर ईन्चार्ज प्रकाश गिरीले उक्त बस पार्क बाट लामो तथा छोटो दुरीका बसहरु संचालन गरीने बताए। उनले बसपार्कबाट सुदुरपश्चिमका पहाडी जिल्लालगायत काठमाडौ, पोखरा, नेपालगन्जका लागी दैनिकरुपमा बसहरु छुुट्ने बताए ।
निर्माण सम्पन्न भएको करिब एक बर्ष पछि बसपार्क संचालनमा आउंदा स्थानीय बासीहरुले खुसी ब्यक्त गरेका छन्। बसपार्क संचालनमा आएसंगै लामो तथा छोटो दुरीको यात्रा गर्न सहज हुनुका साथै यस क्षेत्रको ब्यापार, ब्यवसायमा पनि टेवा पुग्ने स्थानीय ब्यवसायी विनोद ओखेडाको भनाई छ।
सघन शहरी बिकास कार्यक्रमअन्तर्गत २०७४ असार ३० गते सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको थियो । २ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले सो बसपार्क निर्माण गरेको थियो। ५० बस अटाउने क्षमता रहेको बसपार्कमा टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण गरीएको छ।