धनगढी,२३ साउन ।साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले मंसीर ४ गते देश भरी एकै चरण प्रतिनिधि र प्रदेश सभाको चुनाब गर्ने निर्णय गरेको छ । मिति घोषणा भए संगै देशभर चुनाबको चर्चा हुनथालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम समेत रहेको कैलालीको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ लाई पनि निकै महत्वका साथ हेरीएको छ । क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा चुनाब लड्ने लगभग निश्चित भएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन ।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का नेता नारदमुनी रानासंग डाक्टर आरजु राणा देउवा चार हजार ८८० मतान्तरले पराजित भएकी थिइन् । नेपाली काँग्रेसबाट निर्वाचनमा लेडेकी डाक्टर आरजु राणा देउवाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।नेपाली काँग्रेस कैलालीका सभापति नारयण दत्त भट्टले डाक्टर आरजु राणा देउबा कैलाली क्षेत्र नम्बर ५ बाट चुनाब लड्ने निश्चित भएको बताए । उनले विगत ५ बर्षमा निर्वाचित सांसद नारद मुनी रानाले अफबाह फैलाउने, नचाइने कुरा गर्ने, झुटा आश्वासन दिने र चाहिने काम कहिले नगरेकाले जनताले यसपटक डाक्टर राणालाई नै जिताउने दाबी गरे । ‘डाक्टर आरजु राणा देउवा चुनाब हारेर पनि कैलालीमा धेरै कामहरु गरेकी छिन् । उहाँको पहलमा मोहना, खुटिया र कर्णाली नदीमा अरबौंको बजेटमा तटबन्धन हाल्ने काम भएको छ’ सभापति नारायण दत्त भट्टले भने, ‘उहाँ चुनाब हारेर पनि निर्वाचित सांसद राना भन्दा कयौं राम्रा काम गरेका छन । यदि उहाँलाई जितायौ भने कैलालीमा विकासको लहर आउछ ।’
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का सचिव महेश गोलेले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपनि डाक्टर देउबाले कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास निर्माण लगायत सामाजिक काम गरेको बताए । डाक्टर राणाले कोरोना महामारीको समयमा धनगढी उपमहानगरपालीकाका सम्पूर्ण स्वास्थ्य चौकी, सेती प्रादेशिक अस्पताल, टीकापुर, लम्की, चौमाला, मालाखेती अस्पताललाई स्वास्थ्य सामाग्रीहरु निशुल्क वितरण गरेको सचिव गोलेले बताए । ‘डाक्टर राणालाई कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचन लडिरहेका बेला पर्यटक भएर चुनाब लड्न आएको भन्ने आरोप लागेको थियो’ गोलेले भने, ‘तर, उहाँले पछिल्लो ५ बर्षमा गरेका कामले सो आरोपलाई गलत सावित गरेको छ ।’ कैलालीको विकास गर्न सक्ने एकमात्र ब्यक्ति डाक्टर राणा भएकाले उहाँलाई जसरी पनि जीताउनुपर्ने उनको भनाई छ ।
चुनाब हारेर पनि निरन्तररुपमा कैलालीको विकास र समस्या समाधानमा क्रियाशील डाक्टर राणालाई यसपटक निर्वाचित गराउनै पर्ने नेपाली काँग्रेस धनगढीका नगर सचिव डण्डीराज सुबेदीले बताए । ‘डाक्टर राणाले आफ्नो ब्यक्तिगत पहलमा धनगढीमा निर्वाचित सांसद नारदमुनी राना भन्दा धेरै विकास, निर्माण र सामाजिक काम गरेकी छिन्’ सुवेदीले भने, ‘डाक्टर राणाले कोभिड–१९ बाट प्रभावित विपन्न गरीब परिवारका एक हजार ३६१ जना गर्भवति, सुत्केरी आमाहरुलाई ३४ लाख बराबरको पोषणयुक्त खाना, क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित जनतालाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री, कोरोनाको समयमा गौरीफन्टानाका बाट नेपाल प्रवेश गर्ने जनतालाई दुई लाख बराबरको खाना, पानी र स्वास्थ्य सामाग्री, कैलाली क्षेत्र नम्बर ५ का गरीब परिवारका ३०० जनालाई चार लाख ५० हजार बराबरको न्यानो लुगा, विपन्न वर्गका १५० जना बालबालीकाहरुलाई नगद र शैक्षिक सामाग्री, क्वारेन्टाइन अस्पतालमा एक लाख बराबरका २५ ओटा पंखा निशुल्क वितरण गरिन् ।’
‘डाक्टर राणाले कैलालीका विपन्न, गरीव, जनजाति र महिलाहरुका लागी पनि धेरै काम गरेकी छिन्’ उनले भने, ‘डाक्टर राणाले एक महिने सुरक्षित रक्तदान कार्यक्रम संचालन गरेर ३५० प्वाइन्ट रगत संकलन गरी सहयोग, महिलाहरुको पाठेघरको समस्या सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर संचालन गरेर २९७ जना महिलाहरुको उपचार, हावाहुरीबाट प्रभाबित विपन्न, गरीब समुदायका ७० घरधुरीलाई चार लाख बराबरका जस्तापाता वितरण, तथा गरीब, विपन्न समुदायका ५०० जना विद्यार्थीहरुलाई निशुल्क झोला वितरण गरिन् । सांसद नहुँदा पनि यति धेरै काम गरेकाले उहाँलाई यसपटक जिताएमा कैलालीको समग्र विकास हुने र जनताका समस्या समाधान हुने मेरो विश्वास छ ।’
नेकपा (एमाले) धनगढीका एकजना नेताले नाम नखुलाउने सर्तमा नारदमुनी रानाले कैलाली क्षेत्र नम्बर ५ मा केही काम गर्न नसकेको, पार्टी भित्र गुटबन्धि गर्ने गरेको, आश्वासन मात्र दिने गरेको आरोप लगाए । ‘सांसद राना कोरोनाको समयमा काठमाण्डौंमा नै बस्नुभयो, जनताको समस्यामा साथ दिन कैलाली नआएको प्रति मेरो गुनासो छ’ उनले भने, ‘यस पटक प्रधानमन्त्री पत्नी डाक्टर राणालाई जिताएर काम गर्ने अवसर दिनुपर्छ ।’