धनगढी, १४ साउन । धनगढीका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भिम चौधरी र कान्तिपुर टेलिभिजनका उप सम्पादक टेकराज जोशी सम्मानित भएका हुन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेश संघले आफ्नो आठौं साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा पत्रकार द्धय चौधरी र जोशीलाई सम्मानित गरेको हो ।
सुदूरपश्चिम प्रदेशको पर्यटनको विकासका लागि संचार माध्यमहरुमा निरन्तर समाचार तथा सूचना सम्प्रेषण गरी पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले पत्रकार द्धयलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । यस्तै, भिडियो मार्फत पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै हिमालय भट्ट समेत सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री डा। रावलले यस अघि कार्यक्रमको उद्घाटन गरेका थिए ।
नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य मोहनदेव बिष्ट, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक ज्योती भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नाट्टा सुदूरपश्चिमका सचिव शिवहरी पाण्डेले स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन महासचिव पदम बिक्रम सिंहले गरेका थिए ।आठौं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।