धनगढी,७ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले वार्षिक प्रगति सार्वजनिक गरेको हो ।
खाद्य प्रविधि कार्यालय धनगढीले खाद्य तथा दाना ऐन अनुरूप प्रतिकुल पाइएका ३६ नमुना कारबाही प्रक्रिया अघि बढेको बताएको छ। यस्तै सो वार्षिक अवधिमा कार्यालयबाट खाद्य ऐन प्रतिकुल कार्य गर्ने विरुद्ध २७ वटा नमुना जिल्ला प्रशासन कार्यालय कैलालीमा मुद्दा दायर भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले प्राप्त गरेको नमुना विश्लेषण दस्तुर बापत २७ लाख ९० हजार १७० रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बताए ।
सो अवधिमा १३२ खाद्य उद्योग, ४ दाना उद्योग सिफारिस, ७५ नयाँ खाद्य उद्योग र १ नयाँ दाना उद्योगलाई अनुज्ञापत्र जारी गरिएको छ । भने २१९ खाद्य उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको छ । यस्तै संयुक्त टोली मार्फत १२ पटक र खाद्य निरीक्षक मार्फत ६० पटक खाद्य बजारहरूको अनुगमन तथा २४ पटक होटेल रेस्टुरेण्ट अनुगमन गरिएको कार्यालयले जनाएको छ। यस्तै ४३९ वटा खाद्य तथा दाना उद्योगहरूको अनुगमन कार्य गरेको छ । खाद्य बजार तथा होटेल रेस्टुरेण्ट अनुगमनमा ४० व्यवसायहरूबाट अखाद्य बस्तु जफत गरी नष्ट गरिएको प्रमुख दाहालले बताए ।
सुदूरपश्चिमका ९ जिल्लाबाट सङ्कलन हुन आएका खाद्य तथा दाना नमुनाहरूको विश्लेषण सेवा दिँदै आएको कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरणका लागी १ हजार ४२ नमुना सङ्कलन भएका छन् । अनुरोध भई आएका ५१, ऐन बमोजिम सङ्कलित ५६९, अनुसन्धानात्मक १५९ गरी १ हजार ८२३ वटा नमुना विश्लेषण गरिएको छ ।
यस्तै नयाँ कार्यक्रम अन्तरगत सडक पेटीमा बिक्री गरिने खाद्य पदार्थ स्ट्रिट फुट स्वच्छता अभिवृद्धि कार्यक्रम १ पटक गरिएको छ । यस्तै होटेल स्तरीकरण कार्यक्रम अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा रहेका १३ वटा होटेल तथा रेष्टुरेण्टहरुको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिएको छ । जसमध्ये अति उत्तम हरियोमा ३ तारा शून्य, उत्तम हरियोमा २ तारा २ वटा, सन्तोषजनक हरियोमा एक तारा ७ वटा, सामान्य पहेँलो स्टीकर २ वटा रहेका छन् । भने स्तरीकरणमा नपरेका २ वटा रहेका छन् ।
यस्तै खाद्य प्रविधि धनगढी कैलालीले तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण ५ हजार ८० को नमुनाहरूको विश्लेषण गरेको जनाएको छ। साथै कार्तिक १ गतेदेखि कैलाली र कञ्चनपुरका भन्सार कार्यालयबाट उक्त नमुनाहरूको विश्लेषण प्रतिवेदन सम्बन्धित भन्सार कार्यालयहरूलाई उपलब्ध गराउँदै आइएको जनाइएको छ ।