धनगढी, ५ असार । शनिवार बिहान धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको भव्य समारोहका बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्द बहादुर बोहरा लगायतका नेताहरू उपस्थित थिए ।
कार्यक्रममा निवर्तमान उपप्रमुख सुशीला मिश्र भट्ट पनि थिइन् । तर, कार्यक्रममा निवर्तमान मेयर नृप बहादुर वड भने देखिएनन् । उनी व्यस्त भएर नआएको भन्दा पनि उनलाई नबोलाइएको चर्चा बढेको थियो । सामाजिक सञ्जालमा राजनैतिक पूर्वाग्रही भएर निवर्तमान मेयरलाई खबर नगरिएको आरोप लागेपछि उपमहानगरपालिकाले त्यसको बचाउ गरेको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा उपस्थित भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका निवर्तमान मेयर वडलाई खबर नगरेको भन्दै उपमहानगरपालिकाको आलोचना भएको थियो । यसैबीच उपमहानगरपालिकाले भने यो विषयमा प्रस्टिकरण दिएको छ ।
आज उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा निवर्तमान मेयरलाई खबर गरिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कार्यालय सहयोगीले निवर्तमान मेयर वडको छोरालाई निम्तो दिएको उल्लेख गरिएको छ । निवर्तमान मेयरको धर्मपत्नी लक्ष्मी वडले पनि पत्र घरमा नपुगेको बताएकी छन् ।