विबेक नागरी, चम्पावत (भारत) १५ कार्तिक
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा शुक्रबारदेखि सुरु भएको अलइन्डिया काली कुमाउ कपको उद्घाटन खेलमा सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब, धनगढी विजयी भएको छ । सुदूरपश्चिम ११ ले पिथौरागड क्लबलाई २–१ ले पराजित गरेको हो ।
२५ औं मिनेटमा विक्रमसिंहले सुदूरपश्चिम-११ लाई सुरुवाती गोल गरे । तर, पिथौरागढका अनुरागले ५४ औं मिनेटमा खेल बराबरीमा ल्याए ।
खेलको ६० औं मिनेटमा सुदूरपश्चिम ११ का कमल देउवाले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । जितसँगै सुदूरपश्चिम-११ प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमाले जानकारी दिए । उसले अर्काे खेलमा सोमबार एफसी दिल्लीसँग प्रतिस्पर्धा गर्ने छ ।
अलइन्डिया काली कुमाउ कप खेल्न बिहिबार सुदूरपश्चिम-११ भारत प्रस्थान गरेको थियो । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब हरेक वर्ष चम्पावतमा हुने सो प्रतियोगितामा सहभागी हुँदै आएको छ । स्पोर्ट्स क्लब वेलफेयर सोसाइटी, चम्पावतले प्रतियोगिता आयोजना गर्दै आएको छ ।
गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको सुदूरपश्चिम-११ यस वर्ष च्याम्पियन बन्ने दाउमा रहेको छ ।