काठमाडौं, १२ वैशाख । अछामको पञ्चदेवल नगरपालिकामा गायक टंक तिमिल्सिनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यूवा र समग्र नगरको प्रतिनिधित्व गर्दै तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गर्नुभएको हो । मनोनयन दर्तापछि संक्षिप्त कुरा गर्दै तिमिल्सनाले गाउँठाउँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभयो ।
पूराना नेताहरुबाट सल्लाह लिँदै नयाँ सोचका साथ अगाडि बढे नगरको विकासमा सहज हुने उहाँको भनाइ छ । मनोनयन दर्तापछि गायक तिमिल्सिनाले नगरका सबै जनताले आफूलाई मतदान गर्दै विजय बनाउनेमा ढुक्क भएको बताउनुभयो ।
युवाहरु विदेशिने, गाउँ बाहिर बस्ने, अलिकति सम्पत्ति कमाएपछि नफर्किने गरेका धेरै उदाहरणहरुलाई चिर्न आफू यहाँ आएको तिमिल्सिनाको भनाइ छ । नगरमा गर्नुपर्ने धेरै काम बाँकी रहेकोले आफूले ती विकासे योजनालाई अगाडि बढाउने उहाँको लक्ष्य छ ।