काठमाडौँ, ६ चैत । भिसाको काम रोकिँदा नर्सिङ क्षेत्रका लागि छनोट भएका नेपाली कामदार इजरायल जाने क्रम अवरुद्ध भएको छ। इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण भिसाको काम रोकिएको हो।
जसले गर्दा नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार पठाउन वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनोट गरेका हजारभन्दा बढी नेपालीमध्ये अहिलेसम्म २९७ जना मात्र इजरायल आइपुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। छनोट भएका अन्यको पनि कन्ट्राक्ट साइनिङ, भिसा, प्रि–डिपार्चर ओरिन्टेसनलगायत काम भइरहेका बेला इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलन भएकाले भिसाको काम रोकिएको जानकारी दूतावासले दिएको छ।

यस विषयमा स्पष्टीकरण दिँदै दूतावासले सूचनामार्फत भनेको छ, ‘परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको यस आन्दोलन अवधिभर सरकारी प्रक्रियाहरू अगाडि नबढाउन तथा महत्त्वपूर्ण भ्रमणहरू नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’
भिसा प्रक्रिया छिट्टै पुनः अगाडि बढाइने जानकारी दिँदै इजरायलस्थित नेपाली दूतावासले केही समय धैर्य गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।