डडेलधुरा, ३० असोज ।
डडेलधुरा देखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । साविकका ५ वटा गाउँविकास समिति जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड जोड्ने सवैभन्दा छोटो दूरीको यो सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०४२ मा निर्माण सुरु भएको हो ।
सडक निर्माणमा पटक–पटक भएको अनियमितताका कारण हालसम्म पनि सडक बन्न नसकेको हो । डेलधुराको उग्रतारा मन्दिर देखि ९६ किमी लामो दूरीको सडक निर्माणमा ३४ वर्षसम्म लगातार बजेट खर्च हुँदै आएपनि निर्माण कम्पनी र सरकारी अधिकारीहरूले गर्ने अनियमितताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
डडेलधुराका साविकका ५ गाविसमा ७८ किमि र बैतडी जिल्लामा १८ किमि निर्माणाधीन सडकको रातागौन देखि ८ किमि क्षेत्रमा सुरु भएको कालोपत्रे गर्ने काममा पनि पछिल्लो पटक ब्यापक अनियमितता भएको छ ।
मापदण्ड अनुसार काम नभएपछि अजयमेरु गाउँपालिकाको पहलमा पहिलो पटक निर्माण कम्पनीको भुक्तानी रोक्का गरिएको अजयमेरु गाउँपालिका प्रमुख उमेश भट्टले बताए । नाली निर्माण र कालोपत्रे गर्ने दुवै काममा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको छ ।