एकेन्द्र चन्द
धनगढी, २४ फागुन । आज नारी दिवस । नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्दैन। हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन्। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ।
तर, डोटीका ग्रामीण भेगका महिलाका जीबनशैलीमा खासै परिवर्तन भएको पाइँदैन । आज नारी दिवस मनाउँदै गर्दा महिलाको डोको र लाम्लो अझै छुटेका छैनन् महिलाहरु अझै पनि आफू स्वतन्त्र रुपमा सार्वजनिक कार्यक्रममा जान सकिरहेका छैनने । सधै उही काम काज मेला, पाखा घाँस दाउरा स्याउला ल्याउँदै उनीहरुको जीवन चल्दै छ।
परिवर्तन नहुनु पनि धेर थोरै महिलाको कमजोरी देखिँदै छ। महिलाहरु नै एक आपसमा जुट्न नसक्नु पनि एक कारण हो । महिलाले महिलामाथि नै हिंसा गरिरहेको पाइन्छ । यसको अन्त्य हुन नि जरुरी देखिन्छ।
हाम्रो मुलुकको इतिहासलाई फर्केर हेर्दा पनि राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो हो।
महिलाको सक्रिय राजनीतिक सहभागिताले पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् । विश्व परिप्रेक्ष्यमा कुरा गर्दा अन्तर्राष्ट्रिय नारी दिवसमा भने संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर नारी शक्ति अनि समानताकालागि एेक्यवद्धता जनाउँदछन् ।
तर, हाम्रो नेपाली समाजमा भने महिलाबीच एक आपसमा सकारात्मक सोच, सम्मान, माया र स्नेहको भावना भन्दा बढी ईर्ष्या गर्ने ,असहयोग गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति भने रहिआएको छ।
महिलाहको बीचमा एकआपसमा फराकिलो मानसिक सोचको साथ एकजुट हुन ज़रूरी देखिन्छ ,८ मार्चलाई पर्व तथा उत्सवको रूपमा लिने भन्दा पनि अधिकार प्राप्तिको ऐतिहासिक क्षणको रूपमा लिनु सान्दर्भिक हुनेछ।
नेपाली समुदायमा घटिरहेका कुनै पनि हिंसा विरुध्दमा बोल्न अब मार्च ८ अर्थात नारी दिवस कुरी रहनु हुँदैन । कुनै पनि दिनमा हिंसाको विरुध्दमा आवाजको राँको बालेर यसलाई रोक्ने आँट नारीले गर्ने साहस गर्दा मात्र यसको अन्त्य गरि सम्मानपूर्ण समाजको निर्माण गर्न सक्नेछौ।