कालिकोट, १५ फागुन । कालिकोटको शुभकालिका गाउँपालिका–४ स्थित महादेव मावि राराकाटीयामा शैक्षिकसत्र सकिन लाग्दा पनि पाठ्यपुस्तक आइपुगेको छैन। शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीहरुले कक्षा १० को स्वास्थ्य तथा शारिरीक शिक्षा र कक्षा १, २ र ३ को पाठ्यपुस्तक पाएका छैनन्।
एसईई आउन दुई महिना मात्रै बाँकी रहँदासम्म पनि पाठ्यपुस्तक नपाउँदा परीक्षा कसरी दिने हो भन्ने चिन्ता विद्यार्थीमा छ। ‘परीक्षा आउन लागिसक्यो, कितावको अनुहार हेर्न पाएका छैनौं,’ कक्षा १० कि छात्रा कविता चौलागाईले भनिन्, ‘विद्यालय प्रशासनको लापरवाहीले मजस्ता विद्यार्थीहरुको भविश्य अन्योलमा परेको छ।’
विद्यालयमा कक्षा १० मा ६८ जना विद्यार्थीहरु अध्ययनरत छन्। पाठ्यपुस्तक नपाएका कारण परीक्षामा उत्तीर्ण हुन नसक्ने डर विद्यार्थीहरुमा छ। विद्यालयलाई सकेसम्म छिटो पाठ्यपुस्तक व्यवस्था गरिदिन आग्रहसमेत विद्यार्थीहरुले गरेका छन्। तर, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले चासो देखाएको छैन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप चौलागाईले प्रधानाध्यापक र लेखापालका कारण पाठ्यपुस्तक अहिलेसम्म नआएको आरोप लगाए। ‘पटक–पटक पाठ्यपुस्तक ल्याउन विद्यालय प्रशासनलाई आग्रह गरेका छौं,’ उनले भने, ‘प्रधानाध्यापक र लेखापालले अटेरी गर्दै आएका छन्।’
चौलागाईले आगामी एसईई परिक्षामा विद्यार्थीहरु फेल भए त्यसको जिम्मा प्रधानाध्यापक र लेखापालले लिनुपर्ने बताए। शुभकालिका गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर शाहीले विद्यार्थीले पाठ्यपुस्तक नपाउनु दुःखद् भएको बताउँदै तत्काल छानवीन गर्ने बताए।