काठमाडौँ,२२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् । मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे ।
उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे ।
मन्त्री आलेले सबै अप्ठ्यारो कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यहरूको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए ।
