बाजुरा, १ असोज
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन ।
बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भए पनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए ।
कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । ‘यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन’ उनले भने । बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाले बताए । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ ।
